२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

बालबालिकामा इन्टरनेटको लत



समयसंगै इन्टरनेटमा व्यक्तिको पहुँच र यसको प्रयोग गर्ने शैलीमा व्यापक परिवर्तन आएको छ। प्रविधिले फड्को मारेसँगै यसको प्रयोगले समाजका हरेक तह र तप्काका मानिसको जीवनशैलीमा परिवर्तन आएको छ। चाहे त्यो सहरका हुन् वा गाउँका, बच्चा हुन् वा वयस्क वा वृद्व, महिला हुन् वा पुरुष, कामकाजी हुन् वा फुर्सदिला हरेक मानिसको हातमा मोबाइलका साथै इन्टरनेटको पहुँच छ। सामाजिक सञ्जालको प्रयोगले झन् व्यस्तता बढाएको छ।

कोभिड–१९ को लकडाउनपश्चात् इन्टरनेटको प्रयोग व्यावसायिक मात्र नभई विद्यार्र्थीका लागि अध्ययनको अभिन्न अङ्ग बन्न पुग्यो। यसले गर्दा इन्टरनेट तथा मोबाइल बालबालिकाको अध्ययनको साधन बन्यो। आजकल मोबाइल तथा इन्टरनेट अभिभावकका लागि अध्ययन मात्र नभई बालबालिका फकाउने माध्यम बन्न पुगेको छ। जसले बालबालिकामा यसको प्रयोगको

लत बनिसकेको छ। यसले उनीहरूको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पु-याएको विभिन्न अध्ययनले देखाएका छन्।

अभिभावकहरूले बालबालिकालाई फकाउन, खाना खुवाउन, विद्यालय पठाउन, फुर्सदको समयको उपयोग गराउन, मोबाइलको प्रयोग नै गराउने बानीले बालबालिकामा मोबाइलको लत नै बसेको छ। यसको प्रभावस्वरूप बालबालिकामा सिर्जनात्मक क्षमता बढाउने कार्यमा रुचि र चासो घट्दै गएको छ। निद्राको अनियमितता, व्यायामको कमीले शारीरिक तथा मानसिक विकासमा पनि बाधा पुग्ने देखिन्छ।

वर्तमान डिजिटल संसारमा हामी बालबालिकालाई इन्टरनेट तथा सामाजिक सञ्जालको पहुँच तथा यसको प्रयोगबाट टाढा राख्ने प्रयास गर्दा उनीहरूको सिक्ने अवसरबाट वञ्चित गरिएको जस्तै हुन सक्छ। प्रविधिमैत्री सीप तथा यसको प्रयोगले समय तथा पैसाको बचत त हुन सक्छ तर सामाजिक सञ्जालमा प्रयोग भएको कन्टेन्ट, विज्ञापन तथा अन्य सामग्रीले बालबालिकामा पर्ने जोखिमबाट विभिन्न आपराधिक क्रियाकलाप बढ्न सक्ने सम्भावना रहन्छ। इन्टरनेटमा सामाजिक सञ्जालको प्रयोगले बालबालिकामा साइबर क्राइम, बुलिङ, यौनिक क्रियाकलाप जस्ता गलत प्रवृत्तिको विकास हुन सक्ने र यसले सामाजिक अपराधका घटना बढ्न सक्ने सम्भावना रहन्छ।

बालबालिकामा सामाजिक सञ्जाल तथा इन्टरनेटको गलत प्रयोग रोक्नका लागि प्रथमतः अभिभावक नै सचेत र क्रियाशील रहनु्पर्छ। जबर्जस्ती बालबालिकामा लागेको यसको एडिक्सन कम गर्ने प्रयास गरियो भने यसले दुष्परिणाम निम्त्याउने सम्भावना पनि उत्तिकै रहन्छ। सर्वप्रथम अभिभावकले बालबालिकालाई इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगप्रति सकारात्मक धारणाको विकास गराउनुपर्छ। बालबालिकाले प्रयोग गर्ने सामाजिक सञ्जाल, यसमा प्रयोग भएको विज्ञापन, कन्टेन्ट तथा अन्य सामग्री बालबालिकामैत्री छ कि छैन भनी ज्यादै सचेत रहनुपर्छ।

बालबालिकाको सिकाइप्रतिको पहिलो दायित्व अभिभावकमा रहन्छ। यसका लागि बालबालिकाप्रति इन्टरनेट, सामाजिक सञ्जाल तथा यसको प्रयोगका बारेमा सकारात्मक धारणाको विकास गराउनु तथा गलत प्रयोगबाट हुन सक्ने नकारात्मक परिणामका बारेमा सचेत गराउनु, बालबालिकालाई सकेसम्म अत्यधिक समय दिनु, उनीहरूसँग खेल्नु, रमाउनु, यसको दैनिक प्रयोग समय तोकिदिने गर्नु, उनीहरूका अगाडि सकेसम्म मोबाइल तथा कम्प्युटरको प्रयोग नगर्नु उपयुक्त हुने देखिन्छ।

सामाजिक सञ्जालमा कस्ता सामग्री अपलोड गरेका छन् तथा कस्ता साथीसँगको नेटवर्कमा छन् विचार पु-याउनुका साथै उनीहरूसँगै घुलमिल हुने, अत्यधिक समय प्रदान गर्ने, यसको गलत प्रयोगबाट हुने जोखिमका बारेमा घरपरिवारमा बसेर छलफल गर्ने गर्नु अभिभावकको दायित्व हो। यसबाट बालबालिकामा हुने एक खालको जोखिम कम गर्न सकिन्छ। विद्यालयमा पनि बालबालिकाले धेरै समय व्यतीत गर्दछन्। कोभिड–१९ को महामारीको समयमा शैक्षिक संस्थाले विद्यालय शिक्षा निरन्तरताका लागि आफ्ना बालबालिकालाई अनलाइनको माध्यमद्वारा सिकाइको अभ्यास गरे र त्यसले कोभिडपश्चात् केही समयसम्म निरन्तरता पायो। यस समयमा बालबालिकाले इन्टरनेटको प्रयोग अत्यधिक रूपमा गरे जसले गर्दा भौतिक रूपमा कक्षा सञ्चालनको समयमा पनि इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गरी नै रहे।

शैक्षिक संस्थाले बालबालिकालाई यसको प्रयोगमा बाध्यकारी बनाए तर बालबालिका तथा तिनका अभिभावकले यसको सुरक्षित तथा समुचित प्रयोगप्रति खासै ध्यान दिएको पाइँदैन। यसका लागि हरेक शैक्षिक संस्थाले आफ्ना बालबालिकालाई इन्टरनेटको उचित प्रयोग गर्नुका साथै यसको गलत प्रयोगबाट उत्पन्न हुने जोखिम कम गर्न विद्यालय शिक्षामा यसलाई समावेश गर्नुका साथै विद्यालयमा इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग निर्देशिका तयार गरी सम्पूर्ण विद्यालय परिवारमा यसको पूर्ण पालनामा प्रतिबद्धता जाहेर गराउनुपर्छ।

विद्यालय हाताभित्र विद्यार्थीलाई कम्तीमा हप्तामा एक दिन इन्टरनेट साइबर सेक्युरिटीको सचेतनामूलक कक्षा सञ्चालन गर्ने, विद्यालयमा आयोजना गरिने विभिन्न अतिरिक्त क्रियाकलापमा जस्तै वादविवाद, वक्तृत्वकला, हाजिरीजवाफ, इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगसम्बन्धी विषयलाई समावेश गर्ने जस्ता क्रियाकलापद्वारा सचेतना बढाउन सकिन्छ।

यसका साथै विज्ञापन तथा चित्र, भिडियोहरू बालबालिकाको हितअनुकूल छन् कि छैनन् यकिन गरी प्रसारण गर्ने तथा अश्लील सामग्रीको प्रसारणमा रोक लगाउनु जरुरी भइसकेको छ। यस विषयमा सरोकारवाला निकायले सम्बन्धित सेवाप्रदायकले प्रदान गरेका सेवामा नियमित निगरानी गर्ने, नियमन गर्नका लागि नीति नियम तथा कानुनको तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुका साथै यसको सही तथा नियमित अनुगमन गर्नुपर्छ। बालबालिकालाई प्रविधिमैत्री शिक्षाको विकासका लागि राज्यका सम्पूर्ण निकाय जति जिम्मेवार छन् त्यसको समुचित प्रयोग गरी त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको न्यूनीकरण तथा दुष्परिणाम कम गर्न सबै निकायले सबै ठाउँबाट सहयोग पु-याउनु उत्तिकै जरुरी छ।

गोरखापत्रअनलाइनबाट साभार


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय