२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

बस्तीमा कोसीको पानी टम्म भरिइसक्यो तर जग्गा कब्जा हुने त्रासले घर बाहिर निस्केनन् स्थानीय



उदयपुर । कोसी टप्पु वन्यजन्तु आरक्षले आफू नभएको मौका छोपेर जग्गा कब्जा गरिदिने त्रासकै कारण कोसी बाढीमा फसेका सयौं सर्वसाधारण ज्यान माया मारेर घरखेत रूघेर बसेका छन्। ३४ वर्षपछि धार बदलेर कोसीको भँगालो गाउँ पसेपछि उदयपुरको बेलका नगरपालिका १, २, ३, ८ र ९ नम्बर वडा तथा सुनसरीको बराहक्षेत्र नगरपालिकाको ६ र ९ नम्बर वडाका २५ सय परिवार प्रत्यक्ष प्रभावित भएका छन्। गाउँतिर सोझिएको भँगालोको पानी झनै बढे पनि सयौं स्थानीयवासी घर छोड्न मानिरहेका छैनन्। 

घर छोडेर हिँडेको बेला आरक्षले आफ्नो टेरिटोरी बढाउन जग्गा कब्जा गर्ला भन्ने त्रास धेरैमा देखियो’, बेलका नगरपालिका मेयर अशोक कार्कीले भने, ‘त्यहीँ त्रासले ज्यानको पर्वाह नगरी सयौं गाउँले घरैमा छन्। उद्दार गर्छौ भन्दा पनि मानेका छैनन्।’

सरकारले श्रीलंका टापु, बेलका जंगल करिडोर जोडेर कोशीटप्पु बन्यजन्तु आरक्षको क्षेत्रफल बढाएर राष्ट्रिय निकुञ्ज बनाउने तयारी गर्दै आएको छ। यसका लागि ऐलानी जग्गामा बसेका सर्वसाधारण सबैभन्दा ठूलो बाधक देखिएका छन्। बाढीको प्रभावले घरबार छोडेर हिँड्दा आरक्षणले जग्गा हडप्ने मौका पाउने त्रास स्थानीयलाई छ। पानी टम्म भरिएर जोखिम बढेको अवस्थामा पनि धेरैले घर छाड्न अस्वीकार गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय