२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

मिटरब्याजले उठीबास भएकाहरु भन्छन्, बरु यही मर्छौ तर जग्गा फिर्ता नहुदासम्म फर्किदैनौ



काठमाडौं । आफ्नो घरखेतको बन्धकी फुकुवा गराइदिन काठमाडौंको सरकारसँग बिन्ती बिसाउन आइपुगेका नवलपरासीका किसानहरु दैनिकी भनेकै माइतीघरमा धर्ना हो । दुःखको भारी बोकेर काठमाडौं आएका नवलपरासीका मिटरब्याज पीडित किसान काठमाडौंमा सरकारसँग न्याय मगिरहेका छन् तर सरकार भने उनीहरुको पीडा सुन्ने सुरसारमा छैन । साहुको चर्को व्याजका कारण उठीबास हुने अवस्थामा रहेका नवलपरासीका किसान दिनभर माइतीघरमा धर्नामा बसेर गौशालाको कटेरामा बास बस्ने गर्छन् । उनीहरु ८७ जना एकै ठाउँ बसेका छन् ।

नवलपरासी जितपुरका प्रेमनारायण कोइरी ७७ वर्षका भए । उमेर ढल्किसकेका उनी न राम्ररी हेर्न सक्छन् न हिँड्न नै । चाउरिएका गाला । सेताम्मे कपाल–दाह्री । सेतो कुर्तासँग धोती बेरेका छन् उनले । साहुको ऋणको पासोबाट मुक्ति पाउने झिनो आशा बोकेर काठमाडौंसम्म आएको बताउँछन् ।

त्यस्तै मिटर ब्याजीको पासोबाट मुक्ति दिलाइदिन सरकारसँग गुहार माग्न कुप्रिएको शरीर लिएर काठमाडौं आएका हुन् प्रेमनारायण । उनी आफूजस्तै न्याय माग्न नवलपरासीबाट काठमाडौं आएकाहरुसँग माइतीघर पुगेर साँझ गौशालाको टहरोमा फर्किन्छन् । २०७३ सालमा गाउँकै साहु बसन्त कोहारबाट घर बनाउन प्रेमनारायणले ९ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसबापत जमिन बन्धक राखेका थिए । साहुले पैसा दिनुपर्ने भन्दै धाकधम्की दिन थालेपछि उनले दुई कट्ठा जग्गा बेचेर ऋण तिरे । पाँच वर्षपछि ०७७ सालमा उनले ९ लाख साँवा र त्यसको ब्याज सबै तिरेको बताउँछन् । तर साहुले पैसा पुगेन भनिरहे । पैसा बाँकी रहेको र चुक्ता नगरुन्जेलसम्म १२ कठ्ठा जग्गा र घर फुकुवा नगर्ने डर देखाइरहे । नौ लाख ऋण लिएकामा उनले पाँच वर्ष अवधिमा १६ लाख रुपैयाँ तिरे । तर साहुले तैंले पैसा तिरेको प्रमाण के छ भन्दै अझै सावा र ब्याज गरी ४२ लाख रुपैयाँ तिर्नुपर्ने जिकिर गर्छ ।

मिटरब्याजीले घर खर्च चलाउन लिएको ऋणलाई दोब्बर तेब्बरको कागज बनाउँदै ठगी गरे । सुदखोर साहुले फर्जी कागज बनाएर उनीहरुबाट साँवा ब्याज भन्दा दोब्बर तेब्बर पैसा असुले । तर घर जग्गाको दृष्टिबन्धक फुकुवा गरेनन् पीडितहरुको भनाइ छ । त्यस्तै अर्का रामकवलले साहु जगदिश बानियाँबाट ८० हजार ऋण लिएका थिए । ऋण लिएको केही वर्षपछि समय समयमा गरी बानियाँलाई साढे ९ लाख रुपैयाँ बुझाइसकेको रामकवल बताउँछन् । तर बानियाँ अझै १ लाख ७३ हजार बाँकी रहेको भन्दै जग्गा फुकुवा गर्न मानिरहेका छैनन् । रामकवलको नाममा भएको ६ कठ्ठा जग्गामा चार कठ्ठा आठ धुर बानियाँले बन्धकमा राखेका छन् । ‘मलाई त मर्नु न बाँच्नु भएको छ ।

सुदखोरबाट भूमिहीन बनेकामध्ये अर्का पीडित हुन् रामसुवध महसुर । उनीसँग १५ कट्टा जमिन थियो । तर साहुको पञ्जामा परेपछि उनी सुकुम्बासी बनेका छन् । ०७५ सालमा जगदिश बानियाँ र सुनिल बानियाँ दाजुभाइबाट साढे चार लाख रुपैयाँ ऋण लिएका उनले नगद मात्रै साढे नौ लाख बुझाइसके । तर साहुकारले उनको जमिन थाहै नपाउने गरी बेचिदिए ।

मिटर ब्याज पीडित तथा ठगी विरुद्धको संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ता सुदखोर साहुहरुले गरिखाने सिधासादा किसानलाई गुमराहमा राखि जग्गाजमिन बन्धकमा राखी भूमिहीन बनाएकाले सरकारसँग न्याय माग्न काठमाडौं आएको बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय