१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

मेयर हर्क साम्पाङविरुद्ध साइबर ब्युरोमा उजुरी, यस्तो छ कारण



धरान । नेकपा एमाले केन्द्रीय सदस्य एवं धरान उपमहानगरकी निवर्तमान उपमेयर मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)विरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन् ।  केही दिन अघिदेखि मेयर साम्पाङले उनको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभुलेसन’ बाट सामाजिक तथा जातीय सद्भाव विथोलिने गरि मञ्जु भण्डारीविरुद्ध बनाइएका फेक स्टाटसको स्क्रिनसट राखेर पोष्ट गरेपछि उनले साइवर अपराधअन्र्तगत कारवाहीका लागि उजुरी दिएकी हुन् ।  

नेकपा एमाले र आफुविरुद्ध मेयर साम्पाङ नै लागेपछि उजुरी गर्न बाध्य भएको बिहीबार  धरानमा पत्रकार सम्मेलन गरेर जानकारी दिएकी छन् ।   यो अपराधिक घटना भएको र अन्य पीडित नहोस् भनेर प्रमाणसहित आफूले मुद्दा दिएको उनले बताइन् ।  केही दिनअघि मेयर हर्क साम्पाङले भण्डारीको तस्बिर जोडिएको फोटो पोष्ट गरेपछि भण्डारीले फेसबुकमार्फत नै मेयरलाई सचेत गराएकी थिइन । तर, बिहीबार विहानै मेयर साम्पाङले भण्डारीको नाममा बनेको फेक स्टाटसलाई शेयर गरेका थिए।  

भण्डारीले मेयर साम्पाङको फेसबुक पेजसँगै अन्य थुप्रैको आइडीबाट सेयर भएको प्रमाणसहित ब्युरोमा उजुरी दिएको पत्रकार सम्मेलनमा जानकारी दिइन । ‘जातीय द्वन्द्व निम्त्याउने किसिमको विषयवस्तु राखेर फेक स्टाटस बनाएर स्क्रिनसट गरी जातीय र साम्प्रदायिक हिंसा भड्काउने उत्तेजनात्मक अभिव्यक्तिसहितको फोटो सामग्री मेयर साम्पाङले पोष्ट गरेकोप्रति पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’भण्डारीले भनिन,‘यस्तो गलत काम मेयरबाट जनताले आशा गरेका थिएनन् । उहाँ मेरो चरित्र हत्या गर्न लागेको देखियो ।’ 

बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीसँग आफ्नो तस्बिर र नेकपा एमालेलाई जोडेर वास्तविक पीडितहरुको आन्दोलनलाई राजनीतिकरण गरी डाइभर्ट गर्न खोजेको भण्डारीको आरोप छ । 


प्रतिक्रिया दिनुहोस !