११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

सप्तकोसी बाढीका कारण आठ सय विघा धानखेतीमा क्षति



उदयपुर । बाँध फुटेर गाउँ पसेको सप्तकोसीको पानीको बहाव घट्दै गएको छ । सप्तकोसीको तटीय क्षेत्रमा पर्ने बेलका नगरपालिका–८ को लाहुरेखोँच  डुम्रिबोटमा रहेको बाँध फुटेर गत बुधबार विहान मानव वस्ति पसेको पानीको वहाव घट्दै गएको हो ।  

गाउँपसेको बाढीको कारण बेलका नगरपालिकाको तल्लो तटीय क्षेत्रमा पर्ने वडा नम्बर ८, ३, ९, २ र १ सँगै सुनसरीको बराहा क्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ डुबानमा परेको थियो । अहिले डुबानमा परेको क्षेत्रमा पानी घट्दै गएको बेलका नगरपालिका–३ का वडा अध्यक्ष टंकप्रसाद आचार्यले बताए । उनले भने, ‘मान्छेनै डुब्ने पानी अहिले घट्दै गएको छ ।उनले सप्तकोसी ब्यारेजमा रहेको ढोकाहरु खुल्दै गएपछि पानीको वहाव घट्दै गएको बताए । 

बाढी प्रभावित क्षेत्रमा पर्ने बेलका नगरपालिकाक ८, ३, ९, २ र १ नम्बर वडामा ठूलो परिमाणमा धानखेतीमा क्षति पुगेको बेलका नगरपालिकाकी उपमेयर जिरा राईले बताइन् । ‘बेलका नगरपालिकामा ठूलो परिमाणमा धान खेती हुने क्षेत्र थियो । बाढीको कारण धान पुरै पुरिएको छ । पानीले केही देखिएको छैन । प्रारम्भिक तथ्याङ्क अनुसार झण्डै आठसय विघा धान खेतीमा क्षति पुगेको छ ।’

उनले मानवीय क्षति भने नभएको बताइन् । ‘भाग्यवश भनौँ, मानविय क्षति भएको छैन । गहिरो क्षेत्रमा रहेका घरहरुमा पानी पसेको छ । अग्लो स्थानमा रहेका घरहरुमा पानी पसेको छैन,’ उपमेयर राईले भनिन् । 


प्रतिक्रिया दिनुहोस !