११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

अमेरिका र इयुको दबाबमा रुसबाट सेनाको हेलिकप्टर किन्ने प्रक्रिया रोकियो



काठमाडौं । नेपाली सेनाले अघि बढाएको रुसबाट हेलिकप्टर किन्ने प्रस्ताव विदेशी शक्तिकेन्द्रको दबाब र आर्थिक अभावका कारण रोकिएको छ । सरकारले रुसबाट दुईवटा एमआई—१७ हेलिकोप्टर किन्नका लागि रक्षा मन्त्रालयमार्फत् गत बैशाखमा प्रक्रिया अघि बढाएको थियो। तर सरकारले रुससँग हेलिकोप्टर किन्नका लागि चासो दिएको छैन। त्यसका पछि दुई कारण रहेको सरकारी अधिकारीहरु बताउँछन्। पहिलो, सेनाका लागि हेलिकोप्टर किन्न सरकारलाई चार अर्ब रुपैयाँ चाहिन्छ, जुन अहिले जुटाउन सहज छैन। दोस्रो हो भूराजनीतिक कारण।

सरकारी अधिकारीहरुका अनुसार रुससँग हेलिकोप्टर नकिन्न अमेरिका र युरोपेली मुलुकले नेपालमाथि कुटनीतिक दबाब दिएका थिए। पैसाको अभाव र भूराजनीतिक दबाबका बाबजुद रुसबाट हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाउने प्रयास अझै जारी छ। उता नेपालले रुसबाट हेलिकप्टर किन्ने प्रक्रिया थालेपछि नकिन्न दबाब दिने अमेरिकाले सन् २०१५ मा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पालामा नेपाली सेनालाई अनुदान सहयोगमा चार वटा स्काइ ट्रक दिने प्रतिबद्धता जनाएको थियो। तर अहिलेसम्म दुई वटा मात्रै स्काइ ट्रक नेपाली सेनाले अमेरिकाबाट पाएको छ।

पोल्यान्डमा निर्मित दुई वटा पीजेडएल एम–२८ स्काइ ट्रक अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डले सन् २०१९ मा नेपाललाई दिएको थियो। अमेरिकी सेनाको रेखदेखमा नेपाललाई हस्तान्तरण गरिएका ती स्काइ ट्रक सैन्य प्रयोग मापदण्डअनुसार निर्माण भएका थिए।

इन्डो–प्यासिफिक सुरक्षा मामिलासम्बन्धी तत्कालीन अमेरिकी सहायक रक्षामन्त्री र्यान्डल स्राइबर नेपाल भ्रमणमै रहेका बेला ती दुई स्काइ ट्रक ल्याइएको थियो। ती स्काइ ट्रक अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अन्तर्गत नै भित्रिएको प्रधानसेनापति शर्माले गत महिना संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बताएका थिए। तर, बाँकी दुई स्काइ ट्रक कहिले अमेरिकाले उपलब्ध गराउँछ भन्ने टुंगो छैन।

‘स्टेट पार्टनरसिप अन्तर्गत हामीले चार वटा सैनिक हवाइजहाज पाउने सहमति अमेरिकासँग भएको थियो। त्यसमध्ये दुई वटा नेपाल आइसकेका छन् र ती मेडिकल काममा प्रयोग भइरहेका छन्,’ शर्माले भनेका थिए। 


प्रतिक्रिया दिनुहोस !