४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

नेपाल टेलिकमले अब ७ ओटै प्रदेशमा फाइजी परीक्षण गर्ने



नेपाल टेलिकमले हाल परीक्षण गर्ने भनिएको फाइभजी सेवा अब ७ ओटै प्रदेशमा गर्ने भएको छ। यसअघि सम्झौताअनुसार विभिन्न ४ स्थानमा फाइभजीको परीक्षण गर्ने तयारी भएपनि अब टेलिकमले थप ३ स्थानहरुमा समेत परीक्षण गर्नुपर्ने भएको हो।

हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी टेलिकम कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक (एमडी) सुनिल पौडेलको कार्यसम्पादनमा नै थप बुँदा राख्दै ७ ओटै प्रदेशहरुमा ५जी सेवाको परीक्षण गर्नेगरी निर्देशन दिएको छ।

“हालै मन्त्रालयले एमडीको कार्यसम्पादनमा थप ३ स्थानमा फाइभजी परीक्षण गर्ने उल्लेख गरेर निर्देशन दिईसकेको छ। यसअनुसार अब कम्पनीले ७ ओटै प्रदेशमा परीक्षण गर्नुपर्नेछ,” सो बारेमा जानकार स्रोतले टेक्नोलोजीखबरसँग भन्यो।

नयाँ स्थान वा संख्याहरु थप हुनुमा अहिले फोरजी सेवा बिस्तारको ठेक्का पाएको भेण्डर कम्पनीको आश्वासनलाई आधार मानिएको छ।

“४जी बिस्तारको टेण्डर पाएको एक कम्पनी जेडटिईले टेलिकमलाई आफ्नो तर्फबाट ३ स्थानमा ५जी सेवा निशुल्क परीक्षण गरिदिने भनेको छ।” स्रोतले टेक्नोलोजीखबरसँग भन्यो, “यो माथिबाटै आएको र मन्त्रालयले निर्देशन दिईसकेको हुँदा अब सातै प्रदेशमा परीक्षण गर्नुपर्नेछ।”

टेलिकमले फोरजी सेवा बिस्तारको लागि कोर र र्यानतर्फ टेण्डर पारेका कम्पनीहरु क्रमशः जेडटिई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनल (सिसिएसआई) कम्पनीलाई जिम्मा दिएको हो।


प्रतिक्रिया दिनुहोस !