१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

भारतीय नयाँ रकेटको पहिलो प्रक्षेपण असफल



आइतबार गरिएको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को दुईओटा स्याटेलाइट प्रक्षेपण असफल भएको छ। इसरोले दुवै स्याटेलाइट (भूउपग्रह) गलत कक्षमा गएको बताएको छ। र अब तिनीहरूको कुनै काम छैन।

इसरोले ईओएस०२ र आजादीस्याट नामक स्याटेलाइटहरु प्रक्षेपण गरेको थियो। अहिले स्याटेलाइट विफलताको छानबिन गर्न इसरोले एउटा समिति पनि गठन गरेको दैनिक भास्करले उल्लेख गरेको छ।

इसरोले आइतवार बिहान भारतीय समयअनुसार ९.१८ बजे श्रीहरिकोटा, आन्ध्र प्रदेशको सतीश धवन स्पेस सेन्टरबाट आफ्नो पहिलो नयाँ रकेट एसएसएलभी डी१ प्रक्षेपण गर्यो। यो रकेटबाट ईओएस०२ र आजादीस्याट स्याटेलाइट पठाइएको थियो।

रकेटको तीन सोलिड ईन्धन चरणहरूले राम्रो प्रदर्शन गर्यो, तर यसको चौथो र अन्तिम चरण, तरल ईन्धनसहितको “भेलोसिटी ट्रिमिङ मोड्युल” (भीटीएम), स्पष्ट रूपमा एक समस्या भयो जब भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका अधिकारीहरूले रकेटबाट डाटा हराएको रिपोर्ट गरे।

लिफ्ट अफ भएको पाँच घण्टा पछि, इसरोले मिसन असफल भएको घोषणा गरेको स्पेस डटकमले उल्लेख गरेको छ।

यसको एउटा पेलोडलाई देशभरका ७५ ग्रामीण सरकारी विद्यालयका ७५० विद्यार्थीहरूले बनाएका थिए। यसको लन्चिङ्ग समयमा श्रीहरिकोटामा डिजाइनिङ गर्लहरू पनि उपस्थित थिए।

रकेटले दुवै स्याटेलाइटलाई अन्तरिक्षमा पुर्‍याएको थियो। तर त्यसपछि स्याटेलाइटबाट डाटा आउन रोकियो। इसरो प्रमुख एस. सोमनाथले इसरो मिसन कन्ट्रोल सेन्टरले डाटा लिङ्क प्राप्त गर्न लगातार प्रयास गरिरहेको बताएका थिए।

ईओएस०२ एक पृथ्वी अवलोकन स्याटेलाइट हो, जसले १० महिनासम्म अन्तरिक्षमा काम गर्नुपर्ने थियो। यसको वजन १४२ किलो छ। यसमा मध्य र लामो वेभलेन्थ इन्फ्रारेड क्यामरा छ। यसको रिजोल्युसन ६ मिटर छ। यसले राति पनि निगरानी गर्न सक्छ।

समाचारकाअनुसार यो भारतको पहिलो सानो स्याटेलाइट लन्चिङ्ग भेहिकल हो। यसअघि सिंक्रोनस कक्षसम्म साना स्याटेलाइटहरू पुर्याउन पीएसएलभीमा निर्भर थियो।

पीएसएलभीलाई प्रक्षेपण प्याडमा ल्याउन र एसेम्बल गर्न दुई देखि तीन महिना लाग्छ, जबकि एसएसएलभीलाई २४ देखि ७२ घण्टामा प्रक्षेपणको लागि तयार गर्न सकिन्छ। यसले पैसा र समय दुवै बचत गर्ने रिपोर्टमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय