१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सरकारी जग्गामा बनेको संरचना २४ घण्टाभित्र हटाउन नर्भिकलाई महानगरको अल्टिमेटम



काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालले नियमविपरीत सरकारी जग्गामा निर्माण गरेका संरचनाहरू अवैध भएको दाबी गर्दै काठमाडौं महानगरपालिकाले त्यसलाई २४ घण्टाभित्र हटाउनका लागि अल्टिमेटम दिएको छ । नर्भिक अस्पतालले सरकारी जग्गामा भाडा सम्झौताविपरीत संरचना बनाएपछि हटाउन निर्देशन दिइएको काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता महेशकुमार काफ्लेले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाको नाममा रहेको कित्ता नम्बर २०८५ नम्बरको जग्गामा अस्पतालले सम्झौताविपरीत भौतिक संरचना बनाएको छ । महानगरको नाममा रहेको करिब १ रोपनी ८ आना क्षेत्रफलमा नर्भिक अस्पतालले नक्सा पास नै नगरी भौतिक संरचना बनाएपछि महानगरले हटाउन निर्देशन दिएको हो ।

नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले आफूहरूले भूमिसुधार कार्यालय काठमाडौंसँग औपचारिक सम्झौता गरेर २०६५ साल जेठ १ गतेबाट २० वर्षका लागि उक्त जग्गा भाडामा लिएको बताए । ‘हामीले सरकारसँग औपचारिक रूपमा भाडामा लिएर उक्त जग्गामा अस्पताल सञ्चालनका लागि अत्यावश्यक अक्सिजन प्लान्ट, विद्युत् तथा पानीका संरचनाहरु बनाएका छौं । २४ घण्टामै उक्त संरचना हटाउन सम्भव नै छैन,’ उनले भने, ‘अस्पतालसँग गरिएको सम्झौता अहिले आएर चित्त नबुझेको हो भने त्यसलाई सम्बोधन गर्ने अन्य कानुनी प्रक्रिया हुँदाहुँदै २४ घण्टाको अल्टिमेटम दिनु ठीक होइन ।

उनका अनुसार काठमाडौं महानगरपालिकाले सूचना टाँस गरेर गएपछि उनले त्यहाँ बनाइएका संचरना र त्यसको संवेदनशीलता उल्लेख गर्दै सो विषयमा गम्भीर भएर पुनरावलोकन गर्न अनुरोध गर्दै पत्र पठाइएको छ । ‘हामीले हाम्रो सबै अवस्था अवगत गराएर पत्र पठाएका छौं । उक्त स्थान २४ घण्टाभित्र खाली गर्ने हो भने अस्पताल नै खाली गर्नु पर्छ । हामीले यही उल्लेख गरेर अनुरोध गरेका छौं,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !