१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

दार्चुलामा हाकिमको जालमा फसेका सिपाही जोगाउन जुलुस



दार्चुलाको सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरीको ४४ नम्बर गणमा कार्यरत वरिष्ठ हवल्दार नरेश सिंह साहुको पक्षमा हाम्रो टिम नेपालले आवाज उठाउने भएको छ । झुठो विवरण पेश गरेर जन्मकैदको निम्ति जेल पठाइएका साहुको पक्षमा अहिले बेलुकी ५ बजे राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्न लागिएको हो ।

गणका हाकिमले गलत विवरण पेश गरेर सशस्त्र प्रहरी विशेष अदालतबाट एक गरिबका छोरालाई फसाएको विरोधमा आन्दोलन गरिने टिमले जनाएको छ । एक सय २२ जना सिपाहीलाई बिदा दिएर एसपी त्रिभुवन बिष्टले राशन भत्ता पचाएको विवरणसहितको समाचार गत जेठ २८ गते धनगढीबाट सञ्चालित दिनेश खबर डट कम अनलाइनमा सार्वजनिक भएको थियो ।

तर,हातहतियार र गोपनीयताको सूचना दिएको भनेर गलत विवरण पेश गरी उनलाई “आजीवन” जेल चलान गरिएको हो । अभियोगपत्रमा भनिएको छ, ‘दार्चुलाको आन्तरिक गोप्य सूचना हातहतियार,गोलीगठ्ठा तथा जनशक्तिको विवरणसमेत खुल्ने गरी सूचनाहरु स्थानीय पत्रकारमार्फत प्रशारण गर्न लगाएको साथै गणको आन्तरिक तथा संगठनमा आँच आउने र संगठनलाई प्रत्यक्ष असर पार्ने खालको गतिविधि गरेकाले सशस्त्र प्रहरी बल नम्बर २५ गण हेडक्वार्टर पर्वत दरबन्दी भई हाल नम्बर ४४ गण हेडक्वार्टर दार्चुलामा कार्यरत आईडी नम्बर २२७३३ का कामु सहायक प्रहरी वरिष्ठ हवल्दार नरेशसिंह साहुलाई हदैसम्म कारबाही गरि पाऊँ ।’

स्थानीय पत्रकार सन्तोषसिंह ठगुन्नाले सशस्त्र हेडक्वार्टर पुगेर नरेशले आफूलाई विवरण उपलब्ध गराएको पुष्टि गरेका थिए । पत्रकारले आफ्नो स्रोतको गोपनीयता कायम राख्न नसक्दा नरेशमाथि थप अन्याय परेको बताइन्छ ।

हवल्दारलाई नियोजित ढंगले फसाएर जेल चलान गरेकोप्रति ध्यानाकर्षण भएको टिमले बताएको छ । आन्दोलनमार्फत् प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र सशस्त्र प्रहरी प्रमुखको ध्यानाकर्षण गराइने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !