१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

लुम्बिनी सांस्कृतिक नगरकामा मेयरले छोरा र ज्वाइँलाई जागिर खुवाएपछि विवाद



बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानले करारका ९ जना कर्मचारी हटाएर आफ्नै छोरा र ज्वाइँलाई जागिर खुवाएपछि विवाद भएको छ ।

नगर प्रमुखले अहेवमा छोरा जमिल अहमद खान र सव-इन्जिनियरमा ज्वाइँ जाबेद आलम खानलाई करारमा नियुक्त गरेका छन् ।

मेयर सजरुद्धिन मुसलमानले असार ३१ गतेको कार्यपालिकाको निर्णय भन्दै आफ्नो मात्रै हस्ताक्षर गरेर यही साउन २ गते छोरा र ज्वाइँसहित ११ जना कर्मचारी नियुक्त गरेका थिए । यसअघि प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेले आफ्ना साला विभाष त्रिपाठीलाई कम्प्युटर अपरेटर एवं प्राविधिक सहायक पाँचौं तहमा नियुक्ति दिलाएका थिए ।

नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा विधि प्रकृया मिचेर आफ्ना नातेदारलाई नियुक्त गरेको र प्रशासन सेवाका दुईजना अधिकृतलाई दरबन्दी नै नभएको वडा कार्यालयमा सरुवा गरेको भन्दै उपप्रमुखसहितका अन्य जनप्रतिनिधि र कर्मचारीहरुले विरोध गरेका छन् ।

कार्यपालिकालाई जानकारी नै नदिई फर्जी कागजात तयार गरेको र कर्मचारी भर्नाको कुनै पनि विधि नअपनाइ कर्मचारी भर्ना गरेको भन्दै उपप्रमुख सहितका जनप्रतिनिधि अहिले आन्दोलित छन् । २३ सदस्यीय कार्यपालिकाका उपप्रमुख कल्पना हरिजनसहित १३ जना कार्यपालिका सदस्य निर्णय फिर्ताको मागसहित आन्दोलित भएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत पाण्डेको साउन १५ मा पाल्पाको रामपुरमा सरुवा भएको छ । तर उनले साउन १६ मा आफू अनुकुल नभएका कर्मचारीलाई वडामा पठाएका छन् । ‘प्रशासन सेवाका अधिकृतलाई वडामा दरबन्दी नै हुँदैन तर प्रमुख प्रशासकीय अधिकृतले पूर्वाग्रहका आधारमा मनपरी गर्नुभयो,’ असन्तुष्ट एक कर्मचारीले भने ।

कर्मचारी भर्ना विवादमा कांग्रेसबाट निर्वाचित नगर प्रमुख मुसलमानलाई लोकतान्त्रिक समाजवादी पार्टीसहित १० जनाले साथ दिएका छन् । एमालेबाट निर्वाचित उपप्रमुख हरिजनलाई जसपा र जनमतसहितका १३ जनाले साथ दिएका छन् । उनीहरूले साउन ५ मै जिल्ला समन्वय समिति र जिल्ला प्रशाशन कार्यालयमा नियुक्तविरुद्ध ज्ञापनपत्र बुझाएका थिए ।

नगर प्रमुख मुसलमानले प्रमुख प्रशासकीय अधिकृतलाई आफूले नियमतसम्मत छ कि छैन भनेर सोधेको र उनले नियमसम्मत छ भनेपछि कर्मचारी नियुक्त गरिएको प्रतिक्रिया दिए । ‘म सबै कानुनबारे जानकार छैन, हाकिम साबलाई सोधेर नै निर्णय भएको हो,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !