१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

टेलिकमको प्रबन्ध निर्देशकमा सम्बन्धित क्षेत्रको विज्ञलाई नियुक्ति नदिदा कम्पनिनै धरायसी हुन सक्ने



नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)का प्रबन्ध निर्देशक सुनिल पौडेलले नियुक्ती पाएको ४ महिना पुरा भएको छ। उनलाई वर्तमान देउवा सरकारले चैत २४ गते नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको थियो।साे आधारमा हेर्दा हाल उनको टेलिकममा आएको ४ महिना पुरा भएको छ।

पदिय कार्यभार सम्हालेको दिनदेखि मात्र हेर्दा पनि उनले चैत २५ गतेदेखि आजसम्म ४ महिना बिताएका छन्। तर ४ महिनामा के के गरे वा के गर्ने भन्ने कुनै योजना नभएको देखिएको टेलिकम भित्रै चर्चा शुरु भएको छ।
यसैबीच हालसम्म उनलाई कुनै योजना ल्याउन नसकेको आरोपसमेत टेलिकम भित्रैबाट लाग्न थालेको देखिन्छ।

नियुक्ति प्रकृयामै समेत विवादित पौडेलले प्रबन्ध निर्देशक भएपछिको ‘हनिमुन पिरियड’ भनिने १०० दिनमा समेत कुनै नयाँ काम गर्न सकेनन भने कुनै नयाँ योजना समेत सार्वजनिक गरेनन्। पछिल्लो दिनमा उनलाई कामै नगर्ने प्रबन्ध निर्देशक भनेर सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमभित्र चिनिने कर्मचारीहरुले गुनासो गरे।

यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक पदमा रहँदा समेत पौडेल विवादमा पर्दै आएका थिए। उनको कार्यकालमा भएको कयौं कार्यहरुमा महालेखापरीक्षकको कार्यालयले समेत बेरुजू देखाउँदै आएको छ।

स्पष्टरुपमा हेर्दा समेत उनले पुराना योजनाहरु अध्ययन गर्न बाहेक खासै कुनै काम गर्न सकेका छैनन् र नयाँ योजना आउने संभावना समेत नभएको टेलिकम कर्मचारी वृत्तमा चर्चा शुरु भएको छ।

प्रबन्ध निर्देशक सुनिल पौडेललाई सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सो पदका लागि ‘उपयुक्त व्यक्ति’ भनेर त्यसबेला बखान नै गरेका थिए तर उनले बखान गरेजस्तो काम भने देखाउन नसकेको आरोप लागेको छ।
नियुक्तिको समयदेखि नै निश्चित बाहिरी समूह र व्यक्तिहरुका लागि आएका भन्ने आरोप भोग्दै आएका उनले त्यसलाई चिर्ने कुनै ठोस प्रयाससमेत नगरेको कर्मचारीहरुले बताए।

तीन महिनामा प्रबन्ध निर्देशकले के काम गरे भन्ने बारेमा औपचारिकरुपमा टेलिकमका कुनैपनि कर्मचारीहरु बोल्न मान्दैनन् भने उनले के गरिरहेका छन् र भावी योजनाहरु के छन् भन्ने समेत जानकारी नभएको बताउने गरेका छन्।

बाहिरबाट नियुक्ति भएर आएका व्यक्तिले यति लामो समयसम्म अध्ययन मात्रै गरिरहेको भन्दा कम्पनीलाई नै असर पर्न थालेको छ। “कम्पनीको आम्दानी घटेको देखिन्छ र त्यसको असर आउने त्रैमासिक रिपोर्टमा समेत देखिनेछ। अझ त्यसलाई कसरी रोक्ने भन्ने कुनै योजनासमेत एमडीसँग छैन्,” श्रोतले दाबी गरे।

कम्पनीले पछिल्लो त्रैमासिक रिपोर्ट निकाल्ने तयारी गरिरहेको बेलामा भ्वाइसबाट हुने आम्दानी निकै घटेको र डाटाको आम्दानी बढ्न नसकेको बताईएको छ।

त्यसैगरी अर्का एक उच्च अधिकारीले उनले कामै गर्न नसकेको भन्दै कम्पनीलाई धरासायी बनाउन ल्याईएको होकी भन्ने आशंकासमेत गरे।

“टेलिकमलाई उकास्न भन्दापनि डुबाउन ल्याएको जस्तो देखिन्छ। पुराना योजनाहरु बाहेक नयाँ गर्न सक्ने केहि देखिएको छैन्। कसरी कम्पनी अगाडी बढ्छ?” उनको प्रश्न थियो।

कम्पनीका प्रबन्ध निर्देशक भएपनि उनले आफ्नो लागि कर्मचारीहरुको काम गर्ने र सल्लाह दिने टिमसमेत बनाउन नसकेको आरोप लागेको छ। यसअघिको टिम समेत छिन्नभिन्न भईसकेको छ भने पौडेलले नयाँ टिम बनाउन सकेका छैनन्।

“साँच्चै भन्ने हो भने टेलिकमका सबै कर्मचारीहरुसँग एउटा फुल मिटिङ्ग नै राख्न सकेका छैनन्,” उनले आरोप लगाए।

अझ उनी कम्पनीका कर्मचारीहरु प्रति समेत विश्वास गर्न नसक्ने अवस्थामा पुगेको कर्मचारीहरुको भनाई छ। उनी बिदामा बस्दा समेत अन्य उच्च पदस्थ कर्मचारीहरुलाई अधिकार नदिने गरेको बताईएको छ।

“यसअघिका सबै एमडीहरुले बिदामा बस्दा काम गर्न सजिलो होस भनेर आफू मुनिको तहकालाई अधिकार प्रत्यायोजन गर्ने गर्दथे। तर उनी बिदामा बस्दा समेत अधिकार प्रत्यायोजन गर्न डराएको देखिन्छ,” एक कर्मचारीले दाबी गरे।

टेलिकमका अनुसार उनी गत साता शुक्रबार र यहि साता आईतबार बिदामा बसेका थिए तर दुई दिन बिदामा हुँदासमेत उनले आफु मुनिका कर्मचारीलाई अधिकार नदिँदा निर्णयहरु रोकिएका थिए। यस बारेमा हामीले अन्य उच्च अधिकारीहरुलाई सोध्दासमेत पौडेलले अन्य कसैलाई अधिकार प्रत्यायोजन नगरेको उनीहरुले बताए।

टेलिकमका प्रबन्ध निर्देशक पौडेलले काम गर्न नसक्ने अवस्था देखिएको र उनले आफैं छोड्नसक्ने अवस्था आउने आशंका समेत कम्पनी भित्र गरिएको छ।

“यस्तो कमजोर एमडी अहिलेसम्म आएका थिएनन्। अब चुनावसम्म रहलान र चुनावपछि अर्को सरकारले बिदा गर्ने अवस्था आउन सक्ने देखिन्छ,” टेलिकमका एक उच्च अधिकारीले बताए, “तर त्यसबेलासम्म टेलिकम धरासायी हुनसक्छ।”

त्यसैगरी अर्का एक उच्च अधिकारीले एमडीको बारेमा नबोलेपनि बोल्नुपर्ने अवस्था आएको र योजनाहरु नै नदेखिएको बताए।

“अहिले फाईभजी परीक्षण गर्ने बाहेक ठूला र नयाँ योजना केहि छैनन्। फाइभजी परीक्षण गर्ने तयारी पनि पुरानै एमडीको पालामा निर्णय भएको थियो,” ती उच्च अधिकारीले भने, “पछिल्लो चर्चामा आएको ईसिम पनि पहिलेकै योजना हो।”

अझ अहिले ७ ओटा स्थानहरुमा ५जी परीक्षण गर्ने कार्यसम्पादन थपिएसँगै उनी आत्तिएको कर्मचारीहरुको भनाई छ।

“मन्त्रालयले नै समावेश गरेर परीक्षणको काम गर्न निर्देशन दिएको छ। त्यसलाई कसरी गर्दछन् भन्ने समेत हामीलाई थाहा छैन्,” अर्का एक कर्मचारीले भने।

यति मात्र नभई प्रबन्ध निर्देशक पौडेललाई भेण्डरको फाईल नै रोकेको आरोप समेत लागेको छ। केहि साता अघि हाल चलिरहेकै एक योजनाको फाईल नै उनले रोकिदिएको बताईएको छ।

“उनले काम गरिरहेको भेण्डरको फाईल नै रोकेछन्। त्यसले योजनालाई समेत असर पर्ने देखिन्छ। अनि कसरी काम हुन्छ,” एक कर्मचारीले आक्रोश व्यक्त गरे।

हामीले समेत उनीसँग टेलिकम प्रबन्ध निर्देशक भएपछिका योजनाहरु बारेमा पटक पटक जानकारी लिन प्रयास गरेका थियौं तर उनले हरेक पटक अध्ययन गरिहेको र नबोल्ने जानकारी दिँदै आएका थिए। -श्रोत- टेक्नोलोजीखबर


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय