१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

श्रीमान्‌-श्रीमतीको झगडाले बझाङको बुंगलमा पुरै परिवार नै सखाप



बझाङको बुंगल नगरपालिका–९ रारुका पुष्कर पार्की भारतमा रोजगारी गर्दै आएका थिए । रोजगारीकै सिलसिलमा भारतमा रहेका बेला केही वर्ष अघि उनको भेट बित्थडचिर गाउँपालिकाकी गीता पार्कीसँग भयो । दुवै जनाबीच प्रेमपछि परिवारकै सल्लाहमा विवाह पनि भयो ।

विवाह गरेपछि पनि पुष्कर रोजगारी गर्न भारततिरै गए । सवारी चालक समेत रहेका उनी केही महिना भारतमा काम गर्ने र केही महिना घर आएर बस्ने गर्थे । पुष्कर र गीताका दुई छोराछोरी थिए, श्रीमान–श्रीमतीबीचको सम्बन्ध राम्रै थियो ।

श्रीमतीले घरमा छोराछोरीको पालनपोषण गर्थिन् भने पुष्कर भारतमा गरेको मजदुरीले खर्चको जोहो गर्दै आएका थिए । पुष्करका दाजु गणेशका अनुसार १९ साउन २०७८ मा गीता जबर्जस्ती करणीमा परिन् । गीताले हल्ला गरेपछि गाउँलेले स्थानीय झलक नेपालीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए ।

‘राति मदिरा सेवन गरेर भाइको घरमा पसेर जबरजस्तीकरणी गरेपछि गाउँका सबै जना मिलेर नेपालीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थियौँ,’ पुष्करका दाइ गणेशले भने, ‘अहिले ऊ पुर्पक्षका लागि बझाङ कारागारमा छ ।’

जबरजस्ती करणीको घटना भएपछि पुष्कर र गीताबीच खटपट सुरु भएको थियो । करणीको घटनापछि मानसिक रुपमा विक्षिप्त बनेकी गीतामाथि पुष्करले चरित्रको प्रश्न उठाएर आरोप लगाउन थालेपछि बेलाबेलामा झगडा पर्ने उनीहरुलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुष्कर एक/दुई महिनाको अन्तरमा घर आउने/जाने गरेका थिए । मनमुटावकै बीच गीताले छोराछोरी हुर्काइरहेकी थिइन्, घर सम्हालेकै थिइन् ।

तर एक हप्ताअघि भारतबाट फोन गर्दा मोवाइल व्यस्त भएपछि पुष्कर श्रीमतीसँग रिसाएका थिए । फोनबाटै पुष्करले घरको काममा ध्यान दिन भनेको प्रहरीलाई दिएको प्रारम्भिक बयानमा बताएका छन् । त्यसपछि पुष्कर गत मंगलबार घर फर्किए । बाटोमा मदिरा सेवन गरेर राति अबेर घर पुगेका पुष्करको श्रीमतीसँग भनाभन भएको थियो ।

‘मैले गाउँका मान्छेहरुबाट तिम्रो श्रीमती घरमा बस्दैन । घुम्ने, डुल्ने गरेको छ भनेर सुनेकाले किन बाहिर जान्छौ ? तिम्रो फोन पनि व्यस्त थियो कसैसँग सम्बन्ध त छैन ? भनेर भन्दा श्रीमतीसँग विवाद भएको हो भनेका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि आफू खाना खाएर सुतेको र बिहान घरमा नदेखेपछि खोजी गरेका हुँ भन्ने कुरा गरेका छन् ।’

राति श्रीमतीसँग झगडा भएपछि खाना खाएर सुतेको बयान दिएका पुष्करले बिहान मात्र श्रीमती र छोराछोरी घरबाट निस्केको थाहा पाएको स्वीकार गरेका छन् । पछि बुधबार बिहान करिब ६ बजेतिर उनकी श्रीमती गीता, ५ वर्षीया छोरी भूमिका र ३ वर्षीय छोरा मोहित घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थीले घटनाको प्रकृति हेर्दा झुन्डिएर आत्महत्या गरेको जस्तो देखिएपनि अनुसन्धान भइरहेको बताए । ‘घटनाको प्रकृति हेर्दा झुन्डिर आत्महत्या गरेको जस्तो देखिन्छ । तीनै जनाको शरीरमा देखिने कुनै पनि घाउचोट छैन’, अवस्थीले भने, ‘तर हामी सुक्ष्म अनुसन्धान गरिरहेका छौं ।’

प्रहरी नियन्त्रणमा रहेका पुष्करले श्रीमतीसँग एक हप्ताअघि फोनमा वादविवाद भएको पुष्टि गरेको अवस्थीले बताए । हाल गीता र उनका छोराछोरीको शव परीक्षणका लागि जिल्ला अस्पताल बझाङमा राखिएको छ ।

-अनलाइनखबरबाट


प्रतिक्रिया दिनुहोस !