१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

महानगर बैठकमा फोहोर नउठाएको भन्दै मेयर बालेनविरुद्ध खनिए वडा अध्यक्षहरु



काठमाडौं । काठमाडौंभित्र थुप्रिएको फोहोरलाई लिएर महानगरको नगर कार्यपालिका बैठकमा तीव्र वादविवाद भएको छ । बैठकमा एमाले–कांग्रेसका वडाध्यक्षहरु मेयर बालेन्द्र साहविरुद्ध आक्रमकरुपमा प्रस्तुत भए । फोहोरको समस्याको सबै दोष उनीहरुले साहमाथि थोपर्ने प्रयास गरेका थिए । आजको बैठकको सुरुवातमा साहले छलफलका लागि १३ वटा प्रस्ताव अघि सारेका थिए । तर, वडाध्यक्षहरुले भने फोहोर व्यवस्थापनबाहेक अरु विषयमा छलफल नै नगर्ने अडान लिए । उनीहरुले भोलिदेखि जात्रा सुरु हुने भएकाले फोहोरको समस्या भयावह बनेको बताए ।

यस क्रममा केही वडाध्यक्षले मेयर साहको आलोचना गरेका थिए । त्यसपछि मेयर साहले फोहोर व्यवस्थापनका विषयमा भएको प्रगतिबारे व्रिफिङ गरे । तीन दिनअघिसम्म दैनिक २०० देखि ३०० टिपसम्म फोहोर गइरहेको तर, अस्ति राति गाडी तोडफोड भएपछि फोहोर फाल्ने क्रम रोकिएको बताए । यस विषयमा हिजो सहरी विकास मन्त्रालयमा बैठक बसेको भन्दै उनले भोलिबाट फोहोर उठ्नेमा आश्वस्त तुल्याउन खोजे । तर, वडाध्यक्षहरुले चित्त बुझाएनन् । ‘सुरुमा त प्रमुख कार्यकारी अधिकृतले गरेको परिपत्र नै गाइजात्रा भयो । सभागृहमा वैठक भनेर परिपत्र गर्ने, अनि यहाँ मिटिङ बोलाउने ? बैठकको यत्रो एजेन्डा बनाउन सक्नुहुन्छ, फोहोरको एजेन्डा कहाँ गयो ? मेयरज्यूको अध्यक्षमा रहेको कार्यदल कहाँ छ ? कतिवटा वैठक गर्नुभयो ? के प्रगति भयो जानकारी दिनु पर्दैन ? यस्तो गलत कुरा नगर्नुस मेयरससा’ब ।

हामी पनि आफ्नो वडाका मेयर हौं । तपाईंले हामीलाई जानकारी दिनु पर्दैन ?’ उनले फोहोर व्यवस्थापनभन्दा अर्को एजेन्डामा प्रवेश नै नगर्ने अडान लिए । होडाले थपे, ‘फोहोर सेग्रिगेसन गर्न तपाईंले सूचना दिनुभएको छ । यस्तो विधिको शासन भयो त ? सेग्रिगेसन गरेर कहाँ लैजाने ? सबै सिसडोल लाने ? के हो नीति ? ३ करोड सहुलियत दिने भनेको छ । तपाईंले कहिले कहाँ दिने जानकारी चाहियो । यत्रो १२ वटा विभाग गठन गरेको के अर्थ भयो ? वैठक बसेको भए प्रगति विवरण आउनुरपर्यो । गाइजात्रा अगाडि गाइजात्रा नगरौं । फोहोर कार्यदलको के प्रगति छ आज मलाई जवाफ चाहियो ।’त्यसपछि उपमेयर सुनिता डंगोलले मुख खोलिन् । उनले वडाध्यक्ष र मेयरको बीचमा बसेर मध्यमार्गी विचार राखिन् ।


प्रतिक्रिया दिनुहोस !