१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

माइतीघरमा कर्मचारीहरुको खबरदारी सभामा उर्लियो मानव सागर



काठमाडौं । निजामती कर्मचारीहरुले आज काठमाडौंको माइतीघर मण्डलामा ‘खबरदारी सभा’ आयोजना गरेका छन् । संयुक्त ट्रेड युनियन केन्द्रीय सन्जालको ब्यानरमा अपराह्न ४ बजेपछि खबरदारी सभा आयोजना गरिएको हो ।

सभामा सहभागीहरुले नायब सुब्बाहरुलाई गरिंदै आएको विभेदपूर्ण व्यवहार अन्त्य हुनुपर्ने, संघीय निजामती सेवा ऐन छिटो जारी गर्नुपर्ने, निजामती सेवामा तहगत प्रणाली लागू गर्नुपर्ने र हरेक पाँच वर्षमा एक तह वृद्धि सुनिश्चित गर्नुपर्ने लगायतका माग लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले राजपत्रांकित तृतीय श्रेणीमा ५० प्रतिशत खुला, ३० प्रतिशत बढुवा र १०–१० प्रतिशत आन्तरिक र अन्तर तह कायम गर्नुपर्ने पनि माग गरेका छन् ।

खबरदारी सभालाई निजामती सेवामा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियनका नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले आफ्ना माग पूरा नभए अझै कडा दबाबमुलक कार्यक्रम गर्ने चेतावनी दिए । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा साउन १ गतेदेखि लागू हुने गरी सबै राष्ट्रसेवक कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो । तर अधिकृतस्तरका कर्मचारीको तलब वृद्धिदर बढी र त्यसभन्दा तल्लो तहका कर्मचारीको तलब वृद्धिदर कम हुने गरी अर्थमन्त्रालयले मन्त्रिपरिषदको कार्यालयमा प्रस्ताव पठाएको सार्वजनिक भएपछि नायब सुब्बा पदका कर्मचारीहरुले विरोध स्वरुप पेन डाउन गरेका थिए । उनीहरुले अर्थमन्त्री जनार्दन शर्मालाई एसएमएस पठाउँदै विभेदपूर्ण व्यवस्था सच्याउन ध्यानाकर्षण पनि गराएका थिए ।


प्रतिक्रिया दिनुहोस !