८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

नेपालको जानकारी बिना रसुवागढी नाकाबाट हुने आयात रोकियो



रसुवा । रसुवागढी नाकाबाट हुने आयात आइतबारदेखि पुनः रोकिएको छ । चीनको तिब्बत क्षेत्रमा कोभिड-१९ को संक्रमण देखापरेपछि चीनले आइतबारदेखि आयातमा रोक लगाएको हो । रसुवागढी नाकाबाट आइतबारदेखि सामान आयात रोकिएको रसुवा भन्सार कार्यालयले बताएको छ ।

शनिबार बिहानसम्म सामान लोड भएका कन्टेनर नेपाल आएको तर आइतबारदेखि भने कुनै कन्टेनर नआएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताए ।

‘३० महिना पूरा भयो रसुवागढी नाकाबाट चीनतर्फ सामान निर्यात हुन नसकेको । मानिसको आवतजावत पनि बन्द छ । आयात रोकिएको विषयमा हामीलाई कुनै पनि औपचारिक जानकारी आएको छैन‚’ मैनालीले भने‚ ‘तिब्बततर्फ कोभिड-१९ को संक्रमण देखिएको अपुष्ट जानकारी आएको छ । आयात रोकिनुभन्दा अघिसम्म नाकाबाट दैनिक चाइनिज १४ कन्टेनर मात्र सामान आयात भइरहेको थियो । त्यो पनि नियमित थिएन । एक-दुईवटा कन्टेनर मात्र सामान आइरहेको थियो ।’

‘तिब्बतमा कोरोना बढेपछि त्यहाँका सरकारी कार्यालयहरू र विद्यालय पनि बन्द भएको अनौपचारिक जानकारी आएको छ‚’ रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैशीले बताए । यसैगरी तिब्बत सरकारले पहिलो चरणमा ८ दिनका लागि नाका बन्द गर्ने निर्णय गरेको अपुष्ट जानकारी प्राप्त भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !