१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

विमानस्थलबाट चरा धपाउन ४० लाख खर्च



काठमाडौं । सरकारले विमानस्थलबाट चरा धपाउने प्रयोजनका लागि शिकारी खटाउने गरेको छ । यसका लागि हरेक वर्ष ठूलो धनराशी समेत खर्च हुन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलका लागि चरा धपाउने प्रयोजनमा प्रयोग हुने गुलेली र मट्याङ्ग्रा तथा जाली खरिदमा ३ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

प्राधिकरणका अनुसार पोखरा नागरिक उड्डयन प्राधिकरणका लागि १ लाख र वन्यजन्तु तथा चराचुरुङ्गी धपाउन तथा गुलेली मट्याङ्ग्रा खरिद तथा ट्रापर मर्मत गर्न त्रिभुवन विमानस्थलमा २ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसभन्दा धेरै ठूलो रकम भने शिकारी खर्चमा हुने गरेको छ ।

प्राधिकरणका अनुसार यस वर्ष शिकारी खर्चमा पोखरामा मात्र ४० लाख रुपैयाँ खर्च हुने भएको छ । त्रिभुवन विमानस्थलका लागि भने २७ लाख रुपैयाँ शिकारी खर्च विनियोजन भएको प्राधिकरणको वार्षिक बजेटमा उल्लेख छ । त्रिभुवन विमानस्थलमा चरा तथा वन्यजन्तु धपाउन आधुनिक उपकरण तथा डिभाइससहित शिकारी समेत खटाउने गरिएको छ ।

काठमाडौंसहितका विमानस्थल चरा तथा वन्यजस्तुको बढी गतिविधि हुने विमानस्थलमा पर्छन् । घाँसे मैदानमा हुने गड्यौंलाहरु धावनमार्गसम्म आइपुग्ने र ती किरा फट्याङ्ग्रा खान चरा धावनमार्गसम्म आइपुग्दा चरा र जहाज ठोक्किने सम्भावना धेरै हुन्छ । यसको न्यूनीकरण गर्न प्राधिकरणले काठमाडौंमा किरा तथा गड्यौंला नियन्त्रणको किटनाशक विषादी तथा छर्किने प्रयोजनका लागि ४ लाख रुपैयाँ विनियोजन गरेको छ । प्राधिकरणले हरेक विमानस्थलमा घाँस तथा खर कटानका लागि समेत बजेट छुट्याएको छ ।


प्रतिक्रिया दिनुहोस !