१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

मिटरब्याजीको अपराध नियन्त्रण गर्न कार्यदल गठन



काठमाडौं । सरकारले मिटरब्याजी अपराध नियन्त्रण गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहलकदमी लिन निर्देशन दिएका थिए ।

उक्त निर्देशनपछि गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा. भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् । कार्यदलको सदस्यमा नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान व्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृहका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहेका छन् ।

कार्यदलको सदस्यसचिवमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !