१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

दार्चुलामा गम्भीर समीक्षासहित अघि बढ्दै मन्त्री बडू, सबैलाई मिलाएर गए जीत सुनिश्चित



दार्चुला । संविधान सभाको निर्वाचन २०६४, दोस्रो संविधान सभाको निर्वाचन २०७० र २०७४ को संघ र प्रदेशको निर्वाचनमा पनि नेपाली काङ्ग्रेस पराजीत भयो । त्यति मात्रै होईन स्थानीय तह निर्वाचन २०७९ मा माओवादीसंग गठबन्धन गर्दा पनि काङ्ग्रेस जिल्ला मै क्लिन स्विप भयो। भनिन्छ, सात पटक भित्तामा टाउको ठोक्किएपछि मानिसमा एक नयाँ बुद्धि पलाउछ । अर्थात् पटकपटकको असफलताको कारण पत्ता लगाई मानिस आत्मसमीक्षा गर्ने ठाउँमा आइपुग्छ र त्यसले नयाँ सम्भावनाको लागी ढोका खोल्छ भने झै नेपाली काग्रेस दार्चुलाले पनि विगतमा भएका कमजोरीलाई समीक्षा गरेर आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सशक्त बनाउन गृहकार्यमा थालेको छ । त्यस्तै दार्चुला जिल्लाका नेपाली काङ्ग्रेसका केन्द्रीय नेता तथा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पनि विगतमा पार्टीले गरेका कमजोरीको समीक्षा गर्ने मनसायका साथ गृह जिल्ला दार्चुला पुगेर नेता–कार्यकर्ताहरुसंग भेटघाट गरे ।
स्थानीय तह निर्वाचनमा पार्टीभित्रकै असन्तुष्टि र असहयोगले जिल्लाभरीको परिणाम नकारात्मक आएको जिल्ला काङ्ग्रेस र केन्द्रीय नेता बडुको साझा बुझाइ रहेको मन्त्री बडु निकटका नेताहरू बताउँछन् । आसन्न मंसिर ४ को निर्वाचनमा पनि पार्टीभित्रका नेता–कार्यकर्ताहरुको असन्तुष्टि र असहयोग निरन्तर रहदा परिणाम प्रतिकुल आउनेमा धेरैजसोको चिन्ता छ ।
स्थानीय तह निर्वाचनमा दार्चुलाका नौवटै स्थानीय तहमा माओवादी केन्द्रसंग दरिलो गठबन्धन गरे पनि काग्रेसका लागि निर्वाचन परिणाम लज्जास्पद निस्केको थियो । नौवटा स्थानीय तहमध्ये एउटा तहमा पनि काग्रेसका उम्मेदवारले नेतृत्व पाउन सकेनन् । स्थानीय तह निर्वाचनमा वडा सदस्यदेखि स्थानीय तहको प्रमुखसम्मको पदमा काग्रेस र माओवादी केन्द्रबीच मसिनोगरी तालमेल गरिएको थियो । तालमेलअनुसारको मतदान भइदिएको अवस्थामा दार्चुलामा एमालेको अवस्था माओवादीको भन्दा पनि कमजोर हुने आकलन थियो । तर, भइदियो उल्टो । काग्रेसभित्रको असन्तुष्टि र असहयोगले ५ स्थानीय तहको नेतृत्वसहित बहुमत पदमा उम्मेदवारी दिएका काग्रेसका अधिकाशं उम्मेदवारले पराजय भोगे । काग्रेसभित्रैको असन्तुष्टि र असहयोगका कारण स्थानीय निर्वाचनमा नमिठो परिणाम प्राप्त भएको समीक्षा गरिएको छ । काग्रेस जिल्ला कार्य समितिले गठबन्धनको साझेदार नेकपा माओवादी केन्द्रबाट इमान्दारिताका साथ सहयोग नभएको निस्कर्ष पनि निकालेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीभित्रको असन्तुष्टि र असहयोग दोहोरिन नदिन अहिलेदेखि नै जिल्लास्तरमा काग्रेसका नेता–कार्यकर्ता जुर्मुराएका छन् । स्थानीय तह निर्वाचनको परिणामको आएलगत्तै दार्चुलाबाट जेठ संक्रान्तिको एकाविहानै मन्त्री बडू सुटुक्क काठमाण्डौं फर्किएका थिए । स्थानीय चुनावपछि साउन २० गते मात्रै उद्योग मन्त्री बडू गृहजिल्ला फर्किएका छन् । यसपटकको गृहजिल्ला भ्रमणलाई मन्त्री बडूले आगामी निर्वाचनमा केन्द्रीत गरेका छन् । व्यक्तिगत भेटघाट र छलफलदेखि औपचारिक कार्यक्रममा सहभागिता र उहाँको अभिव्यक्तिले आगामी निर्वाचनलाई नै केन्द्रीत गरेको देखिन्छ । मन्त्री बडूको प्रमुख आतिथ्यतामा साउन २१ र २२ गते जिल्ला सदरमुकाममा काग्रेसको पहिलो जिल्ला सम्मेलनमा सम्पन्न भयो । पार्टीको नयाँ विधानअनुसार पहिलो पटक जिल्ला सम्मेलन आयोजना गरियो । जिल्ला सम्मेलनमा जिल्ला भरबाट झण्डै ३ सयभन्दा बढी नेता–कार्यकर्ता सहभागी भए । कार्यक्रममा सहभागी मध्ये झण्डै एक तिहाइले आफ्नो भनाई राखे । सबैजसोको भनाई आसन्न निर्वाचनमा पार्टी एकढिक्का भएर उभिनुपर्नेमा केन्द्रीत छ । नौवटा स्थानीय तहका ६१ वटै वडाको प्रतिनिधित्व हुने गरी जिल्ला सम्मेलनमा भनाई राख्न दिइएको छ । सबैजसो वक्ताले स्थानीय तह निर्वाचनमा जस्तो लापरवाही र कमजोरी नगर्न आग्रह गरेका छन् । जिल्ला सम्मेलनको निस्कर्ष नै स्थानीय तहको निर्वाचनबाट पाठ सिक्दै मंसिर ४ को निर्वाचनमा केन्द्रीत हुने भन्ने छ’ काग्रेसका एक जिल्ला नेताले भने । सम्मेलनका आफ्नो मन्तव्य राख्ने झण्डै एक सय नेता–कार्यकर्ताको भनाईलाई उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडूले पूरा समय दिएर र ध्यान लगाएर सुने । ती काङ्ग्रेसका जिल्ला नेता भन्छन्, मन्त्री बडुले संभवत: पहिलो पटक हुनुपर्छ, धेरैजसोका सुझाव र भनाईलाई त उहाँले डायरीमा टिपोट पनि गर्नुभएको छ। जिल्ला सम्मेलनले पार्टी एकढिक्का भएर निर्वाचनमा होमिने निस्कर्ष निकालेको छ । टिकट वितरणले मनमुटाव र असहयोगको अवस्था आउन नदिन अहिलेदेखि नै सतर्क गराउन थालिएको छ । जिल्ला सम्मेलनमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारका आकांक्षी २१ जना नेताहरुबीच लिखित साझा प्रतिवद्धता गराइएको काग्रेसका अर्का जिल्ला नेताले बताए । जुनसुकै व्यक्तिले टिकट पाए पनि सक्रिय भई पार्टीलाई जिताउन चुनावमा खटिनेछौ भन्ने बाँचा गरिएको छ’ ती काग्रेस नेताले भने । स्थानीय तह निर्वाचनमा जस्तै पार्टीभित्रैबाट असहयोग गर्ने भए प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने कि नबन्ने विषयमा मन्त्री बडूले धेरैजसो कार्यकर्तालाई अनौपचारिक प्रश्न पनि गरिरहेका छन् । उहाँका आफन्त र नजिकका कार्यकर्ताले पनि सबै नेता–कार्यकर्ताको प्रतिवद्धता भए मात्रै उम्मेदवार बन्न सुझाव दिएका छन् ।

मन्त्री बडूसंग व्यक्तिगत र सामुहिक रुपमा भेटघाट गर्ने कार्यकर्ताहरुले पनि पार्टी एकढिक्का बनाएर मात्रै चुनाव होमिन सुझाव दिएका छन् । स्थानीय तहमा काग्रेसका जित निश्चित भएको ठाउँमा समेत पार्टीकै कार्यकर्ताहरुको असन्तुष्टिले पराजय भएको विषय चर्चामा छ । जिल्लामा काङ्ग्रेसको राम्रो संगठन छ । माओवादी र एमालेको गठबन्धन हुदा पनि काङ्ग्रेसका उम्मेदवार विक्रम धामीले ६ हजार मतले हारेका थिए । जसमा माओवादी एक्लैको जिल्लामा करिब दस हजार हाराहारीमा मत संख्या छ । तर पार्टी भित्र कै असन्तुष्टिलाई सामाधान गर्न नसक्दा काङ्ग्रेस जिल्लामा कमजोर बनेको काङ्ग्रेसका अर्का जिल्ला नेता बताउँछन् । ती नेता भन्छन्, हामी प्रजातान्त्रिक आन्दोलनदेखि नै पार्टीमा छौ । जिल्लामा मन्त्री बडु नै नेता हुनुहुन्छ । उहाँ पार्टीमा लामो समय व्यतीत गरेका साथीहरुलाई संगै लिएर अगाडि बढे एमालेलाई सहजै हराउन सकिन्छ । पार्टी लागेकै थुप्रै साथीहरु पीडित हुनुहुन्छ । एक दुई जनाको कुरा गरेको होइन । जिल्ला मै पार्टी आन्दोलनमा अतुलनीय सहयोग गरेका सयौं साथीहरू छन् । हाम्रो नेता बडु जी नै हो । यसम कुनै दुई मत छैन तर उहाँले सबैलाई समेटेर अगाडि बढे पार्टीमा विश्वासको वातावरण बन्छ । त्यो भावनात्मक एकतासहित नेतृत्व अघि बढे एमालेको धुलोपीठो पार्न सकिन्छ । अझ गठबन्धनले हाम्रो जीत सहज बन्ने नै छ । अब जिल्लाबाट केन्द्रीय नेता रहेका बडुले सबैको उचित मुल्यांकनसहित सहकार्यको सौहार्द वातावरण बने मंसिर ४ गतेको निर्वाचनमा काङ्ग्रेसलाई विगतको सावाँ ब्याज असुल्ने अवसर छ काङ्ग्रेसका अर्का जिल्ला नेता भन्छन् ।

त्यस्तै दार्चुलामा स्थानीय तह निर्वाचनमा काग्रेससंगको गठबन्धनबाट माओवादी केन्द्रलाई भने फाइदा पुगेको छ । ४ स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका कारण सुदूरपश्चिम प्रदेशभरीमै सबैभन्दा राम्रो नतिजा दार्चुलामा प्राप्त भएको माओवादी केन्द्रका एक जिल्ला नेता बताउँछन् । प्रतिनिधिसभामा पनि गठबन्धन हुने निश्चित हुने भए पनि मन्त्री बडूको उम्मेदवारीबारे चर्चा र आकलन भइरहेको छ । काग्रेसभित्रको असन्तुष्टि र असहयोगलाई सम्बोधन गर्नुपर्ने दबावमा बडू छन् । देउवा पक्षका नेता–कार्यकर्ताहरुको पूर्ण सहयोग र खटनपटन हुने सुनिश्चिता भएमा मात्रै मन्त्री बडू प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न तयार हुने बडूनिकट एक जिल्ला नेता बताउँछन् । ‘जिल्लास्तरमा नेता–कार्यकर्ताको एकता र प्रतिवद्धताले मात्रै यसपालीको उम्मेदवारी निश्चित हुनेवाला छैन, प्रधानमन्त्रीबाट समेत संस्थापन पक्षले आफ्नो समूहका नेता–कार्यकर्तालाई कस्नुपर्छ’ मन्त्री बडूनिकट ती नेता भन्छन् । ‘जिल्लाका सबै नेता कार्यकर्ताले एकतावद्ध भएर प्रस्ताव गरेमा र प्रधानमन्त्री देउवा स्वयंले मन्त्री बडूलाई उम्मेदवार बन्न प्रस्ताव गरेमा प्रतिनिधिसभामा उहाँको उम्मेदवारी निश्चित नै हो’ ती नेताले भने ।


प्रतिक्रिया दिनुहोस !