७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

महासचिव बन्न असफल, एक अर्कालाई रोक्न सफल



काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिवका लागि वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ मुख्य दाबेदार थिए । अन्त्यमा देव गुरुङ महासचिव बने । देव गुरुङ महासचिव बन्नुका मुख्य कारक अनन्त र प्रभाकर नै हुन् । अनन्त र प्रभाकर आफू नबने एकले अर्कोलाई बन्न नदिने खेलामा लागेका थिए । यस अर्थमा, दुवै दोस्रो विकल्पमा सफल भएका छन् ।

महिना दिन अगाडि अनन्त र प्रभाकरबिच सिंहदरबार गेट नजिकै ‘लन्च मिटिङ’ भएको थियो । स्वथ्यकर लन्च लिएका उनीहरुबिच स्वस्थ प्रतिस्पर्धाको वातावरण बन्न सकेन । परिस्थिति झनै बिग्रियो । भेटमा अनन्तले प्रभाकरलाई भनेका थिए– ‘हामी दुईका कारण पदाधिकारी चयन नै अन्योलमा पर्यो । हामी छोडौँ, कुनै तेस्रोलाई महासचिव बनाउँ ।’

अनन्तको प्रस्ताव बेठिक त थिएन । तर, प्रभाकर त्यो मान्न तयार थिएनन् । उनले भने– ‘तपाईं छोड्नुस्, म छोड्न तयार छैन । एक भोट पाए पनि चुनाव लड्न तयार छु । यसरी अनन्त–प्रभाकर सम्वाद समाप्त भएको थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै योजनामा अनन्तले प्रभाकरलाई भेटेका थिए । तर, प्रभाकरले सकारात्मक सङ्केत दिएनन् । बरु, प्रचण्डकै प्रस्ताव लिएर अनन्त आएको चाल पाए । त्यसपछि दुवै दाबेदार आफू अनुकूलको महासचिव खोज्न निस्के ।

आफू नहुने खण्डमा देव गुरुङलाई महासचिव बताउन अनन्त तयार भए । तर, प्रभाकर देव गुरुङ हुँदैन भन्ने पक्षमा पुगे । प्रभाकरले भने शक्ति बस्नेतलाई विकल्पको महासचिवका रूपमा अघि सारे । शक्ति नभए पम्फा भुसाललाई भए पनि महासचिव बनाउन प्रभाकर तयार थिए ।

प्रभाकरको योजनामा शक्ति र पम्फा पनि महासचिवका लागि लागिपरेका थिए । तर, प्रचण्ड भने यी दुवै पात्रबाट महासचिवको पद बहन हुन सक्दैन भन्ने निष्कर्षमा पुगिसकेका थिए । त्यसैले प्रचण्ड अनन्तकै प्रस्तावमा पुगे ।

माओवादीले मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने बाटो लिएको भए अनन्त र प्रभाकर मध्ये एक महासचिव हुन्थे । तर, प्रचण्डले मतदान प्रकृया नचाहेका कारण त्यो सम्भव थिएन । त्यसैले महासचिवका दुवै आकाङ्क्षी तेस्रो विकल्पमा लागेका थिए ।

देव गुरुङलाई महासचिवका उम्मेदवार अनन्तले पनि रुचाएर प्रस्ताव गरेका उम्मेदवार बने । तर, प्रभाकरले भने अस्वीकार गरेका उम्मेदवार थिए । अन्ततः प्रचण्डले देव गुरुङलाई महासचिव प्रस्ताव गरेसँगै अनन्त र प्रभाकर महासचिव बन्ने सम्भावना सकियो ।

देव गुरुङ महासचिव बन्दा अनन्त र प्रभाकरले उपमहासचिवमा चित्त बुझाएका छन् । दुबै नेता आफू महासचिव बन्न असफल भए पनि एक अर्कालाई रोक्न भने सफल भएका छन् ।


प्रतिक्रिया दिनुहोस !