१० आश्विन २०७९, सोमबार
 |   Mon Sep 26 2022
Logo

कञ्चनपुर घटना र समाजमा ब्राह्मणवादको प्रभाव : सरल



ऋषि पञ्चमिको दिन महाकालीमा पुजा गर्ने क्रममा भएको घटनाले कञ्चनपुरको समाज दुई ध्रुवमा बिभाजित भईरहेको छ। यो समाज र समुदाय दुबैको हितमा छैन । ऋषि पञ्चमिको दिन जुन घटना घट्यो त्यो दुर्भाग्यपूर्ण छ । अहिलेको आधुनिक युगमा पनि हाम्रो चिन्तन संस्कृति र मान्यताहरु कति संकीर्ण र साँघुरा छन् भन्ने कुराको प्रमाण हो । त्यसकारण त्यस घटनाको जति भत्सर्ना गरे पनि कम हुन्छ । 

यो बिषयलाई लिएर ब्राह्मण समुदायले सम्पूर्ण दलित समुदायलाई आरोपित गर्ने र दलित समुदायले पनि सम्पूर्ण ब्राह्मण समुदाय माथि आरोप लगाएर समस्याको हल हुँदैन । एउटा ब्राह्मणले गरेको गलतीलाई सम्पूर्ण ब्राह्मण समुदाय र एउटा दलितले गरेको गल्तीलाई सम्पूर्ण दलित समुदायसंग जोड्नु वाञ्छनीय हुँदैन । एकातिर हामी आधुनिकता र अधिकारका कुरा उठान गर्छौं अर्कोतिर हामी पुरातनवादी मार्गमै हिंड्न खोज्छौं त्यसैले समस्या निम्त्याइरहेको छ । प्रथमतः यदि दश बर्षे महान जनयुद्ध भएको हुन्थेन भने आज जेजे अधिकार प्राप्त भएका छन् ति प्राप्त नै हुनेथिएनन् । 

त्यसकारण प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिकालागी निरन्तर संघर्ष र सचेतना अभियान अपरिहार्य छ ।  अर्को कुरा हामी र हाम्रो समाज पुर्णतः मानसिक रुपमा सांस्कृतिक रुपमा र धार्मिक रुपमा पनि जति बाहिर आधुनिक उदारवादी समावेशी र भेदभाव मुक्त देखाउन खोज्छौं त्यति हामि भित्रैबाट भएका छैनौ । हाम्रो मुख्य समस्या नै हामी आफै भित्रको अन्तरद्वन्दमा रुमलिरनु हो । आजको युग सुहाउँदो समाज र विश्व परिवेश सुहाउँदो सोच चिन्तन र बिचारको बिकास हाम्रो छैन । यहाँ जसले जे भनेपनि जे लेखेपनि हाम्रो मन मस्तिष्कमा गहिरो गरि बसेको के छ भन्दा दलित समुदायलाई लाग्छ मनुस्मृतिमा लेखेर हामीलाई अछुत बनाउने ब्राह्मण हुन । त्यसकारण दलितले ब्राह्मणको बिरोध गर्नुपर्छ भन्ने मानसिकताले काम गरेको छ । 

अर्कोतिर ब्राह्मणलाई पनि यो त मनुस्मृतिमै लेखिएको छ त्यसैले दलितलाई मठ मन्दिर र पुजा कर्ममा सहभागी गराउनु यो धर्म संस्कृति बिरोधि भन्ने लाग्छ । समस्याको मुख्य जड यहि हो । दुई परस्पर बिरोधि बिचार र चिन्तनले गर्दा सारा समाजले दुख पाउने स्थिति आउनु किमार्थ राम्रो होइन । हिन्दु धर्मका चार वेद ऋग्वेद, सामवेद, अथर्ववेद र यजुर्वेद मध्ये कुनैमा पनि दलित वा अछुत भन्ने त कतै उल्लेख छैन । त्यसैगरी भागवत गिता, वेद पुराण लगायतमा पनि यस बिषयमा उल्लेख गरिएको पाइन्न । यो केवल मनुस्मृतिमा लेखिएको भेटिन्छ । त्यसकारण मनुस्मृति लेख्नेले त्यतिबेलाको परिस्थितिमा किन लेख्यो त्यो अहिले भन्न सकिन्न । तर अहिलेको अवस्थामा हामी के मात्र भन्न सक्छौं भने त्यो गलत लेखियो र त्यसलाई गलत भनेर सबैले स्वीकार गर्न सक्नुपर्छ । तर त्यतिबेला यसो लेख्नमा ब्राह्मणको हात हो भन्ने मानेर अहिलेसम्म पुरै ब्राह्मण समाजलाई दोषी देख्नु दलित समुदायको समस्या र गलति हो । त्यसैगरी मनुस्मृतिमै लेखिएको छ भनेर दलित समुदाय माथि विवेध गर्नु ब्राह्मण समुदाय वा उपल्लो जातिको पनि दण्डनीय अपराध हो । अहिलेको समस्याको हल भनेको एकले अर्कालाई दोषी देखाएर झुकाएर माफी मगाएर मुद्दा मामिला गरेर वा आन्दोलन गरेर समाधान निस्कनेवाला छैन । यसको हल भनेको दुबै समुदायले आ–आफ्नो गल्ती महसुस गरेर स्वीकार्नुपर्छ । किनभने ब्राह्मणले पनि पुजामा आएका सबै भक्तजनहरुलाई आ–आफ्नो गोत्र संझिनुस र पुजा गर्नुस भनेर भनेको भए यो समस्या आउनेबाला नै थिएन । एक एक गरेर गोत्र सोधिरहनु आवस्यक थिएन । यदि कुनै धर्म स्थल वा धर्म सभामा सहभागी हुने भक्तजनहरुसंग भक्तको व्यबहार गरिनुपर्छ त्यहाँ जात गोत्र सोधिनु हुँदैन । किनभने त्यहाँ सहभागी हुने जोसुकै भएपनि भक्त भएर नै सहभागी हुनेर्छ । यदि कुनै दलितले पुजा गरिदिन ब्राह्मणलाई आग्रह गरेमा ब्राह्मणले नाइनास्ति नगरि पुजा गर्नुपर्छ । किनभने पुजा गर्नु ब्राह्मणको कर्म हो । त्यसैले आफ्नो कर्म गर्दा विभेद गर्नु धर्मसंगत र न्यायसंगत दुबै हुँदैन । त्यसैगरी दलितले पनि ब्राह्मणलाई गालि गरिरहेने विवेध गर्छन भनिरहने अनि पुजापाठ गराउन तिनै ब्राह्मणकोमा धाउने काम पनि अन्त्य गर्नुपर्ने हुन्छ ।  यदि ब्राह्मणले विभेद गर्छन भन्ने लाग्छ भने तिनैकहाँ पुजा गराइमाग्न किन जाने रु जसको धर्म ग्रन्थमा बिवेध छ उसैकोमा गएर कस्तो मोक्ष प्राप्ति गर्ने हो ? ब्राह्मणवाद चिन्तन हो यो दलित समुदाय भित्र पनि छ । दलितको पनि वर्गीकरण छ एक थरि दलितले अर्कोथरि दलितसंग बिहेवारी गर्दैनन् । एक थरी दलितले छोएको पानी अर्को थरि दलितले पिउँदैनन् । के दलित समुदाय भित्र पनि ब्राह्मणवाद छैन र ? अवस्य पनि विद्यमान छ ।

त्यसकारण दलितले दलित भित्र भएको ब्राह्मणवादको अन्त्य गर्न तयार हुनुपर्छ । त्यसैगरी हरेक समुदाय भित्र रहेको ब्राह्मणवादको अन्त्य गर्नु जरुरी छ । यसैगरी अधिकारकर्मीको आबरणमा समुदाय भित्र द्वेष फैलाउने कार्य कसैले पनि नगरौं । समाजलाई एकताबद्ध बनाउन सबै जुटौं । समाजमा रहेका कुरिति कुसंस्कृति र खराब आचरणलाई परिवर्तन गरौं । यसले सामाजिक सद्भाव बढ्छ समाज एकताबद्ध हुन्छ । केहिले धर्ममाथी प्रहार भयो भन्दै धर्मको रक्षाको नाममा ब्राह्मणहरु उचालेर आन्दोलन गर्ने र अर्को पक्षले दलितमाथि बिभेद भयो भनेर आन्दोलन गर्ने कार्यले न समाज सुध्रिन्छ नत सामाजिक सद्भाव नै कायम रहन्छ । त्यसैले सबैले गम्भीर र जिम्मेवार बन्नैपर्छ । हामी एकातिर धर्मको रक्षा गर्ने भगवानको रक्षा गर्ने भनिरहेका हुन्छौं । अर्कोतिर यो सबै भगवानले नै बनाएको हो । हाम्रो रक्षा भगवानले गर्छन पनि भन्छौं । खासमा कसले कसको रक्षा गर्ने हो अहिलेसम्म मैले बुझ्न सकेको छैन । हामी आफ्नो परम्परा संस्कृति धर्म संस्कार र भगवानको रक्षा गर्ने नाममा मानवता, संयमता र सामाजिक सद्भाव गुमाइरहेका छौं भन्ने कुराको सबै पक्षले हेक्का राख्न जरुरी छ । बिभेदको अन्त्य गर्न सबैले पहल गरौं ! एकताबद्ध र भाइचारा सहितको समाजलाई साझा फुलबारी बनाउँ ! यसैमा सबैको हित छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: