१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

६९८ कैदीलाई रिहा गर्न सिफारिस



काठमाडौँ । सरकारले संविधान दिवसका अवसर पारेर करिब ६ सय ९८ कैदीलाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । विभिन्न कारागारमा सजाय भुक्तान गरिरहेका ६ सय ८१ कैदीको बाँकी सजाय कट्टा तथा १७ जनालाई आममाफी दिन मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सिफारिस गरेको हो ।

विभिन्न अपराधमा अदालत तथा मुद्दाको किनारा लगाउने निकायबाट दोषी ठहर भई देशभरका ७४ कारागारमा रहेका कैदीको संख्या १४ हजारभन्दा बढी छ । हरेक वर्ष संविधान दिवस (असोज ३), राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७) र गणतन्त्र दिवस (जेठ १५) का दिन राष्ट्रपतिबाट कैदीलाई उनीहरूका आचरण, व्यवहार, उमेर, अदालतका आदेशलगायतलाई आधार बनाएर बाँकी सजाय कट्टा गरी कैदमुक्त गर्ने चलन छ । पछिल्ला ३ वर्षमा मात्रै ४ हजार बढी कैदीलाई विभिन्न दिवसमा बाँकी कैद सजाय मिनाहा र आममाफी दिइएको छ ।

पछिल्ला ३ वर्षमा मात्रै विभिन्न दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट ४ हजार बढी कैदीको बाँकी कैद सजाय मिनाहा गरिएको थियो । गृह मन्त्रालयको अभिलेखअनुसार २०७९ जेठ १५ मा गणतन्त्र दिवसको अवसरमा ८ सय १८ कैदीको सजाय अवधि मिनाहा र १६ जनालाई आममाफी दिइएको थियो । यो वर्ष (सोमबार) संविधान दिवसमा ६ सय ८१ कैदीको बाँकी सजाय मिनाहा र १७ जनालाई आममाफी दिइँदै छ । २०७८ असोज ३ (संविधान दिवस) मा ५ सय २३ को बाँकी सजाय मिनाहा र ८ जनाले आममाफी पाएका थिए ।


प्रतिक्रिया दिनुहोस !