७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

रअको निसानामा थिए गोठाटारमा मारिएका मोहम्मद ! १० वर्ष जेल बसेर फर्किएको विवादास्पद इतिहास



काठमाडौं । सोमबार हरिवन नगरपालिका–२, सर्लाहीका लाल मोहम्मद अपराह्न गार्मेन्टका लागि प्लास्टिक लिन काठमाडौंको जोरपाटी गए । कपडा लिन आएका ग्राहक रामप्रसाद गौतमलाई सामान दिन प्लास्टिक नपुगेपछि उनकै बा ६ च ५१५२ नम्बरको कारमा निस्किए । उनी फर्किँएर आउँदा अपरान्ह साढे ६ बजिसकेको थियो । उनले मोहम्मद बस्ने घर आँगनमा पार्क गर्न गाडी घुमाए । दुईजना व्यक्ति अगाडि बसिरहेका थिए । ‘साइड लाग्न’ भन्दै गौतमले गाडी अघि बढाएर रोके । रोकिने वित्तिकै मोहम्मद गाडीबाट उत्रिएका मात्र के थिए, एक्कासी झिल्कोसहित केही पड्किएको आवाज आयो । उनी भाग्न खोजे, तर मोहम्मदलाई ती आक्रमणकारीले लखेटिरहे । चार÷पाँच पटक जति गोली पड्किएको आवाज सुनियो । हेर्दाहेर्दै लाला महोम्मदकी छोरीले एक तला माथिबाट हाम फालिन् । प्रत्यक्षदर्शीहरुका अनुसार मोहम्मदले गोठाटारस्थित घरको तेस्रो फ्ल्याट पुरै भाडामा लिएर ‘एभेन्जर इन्टरप्राइज’ नामक गार्मेन्ट फ्याक्ट्री चलाइरहेका थिए । त्यहीँ उनका श्रीमती, छोरीसहित अन्य सदस्य बस्दै आएका थिए ।

‘तल गोली हानेको देख्ने वित्तिकै तेस्रो तलाबाट सुरुमा दोस्रो तलामा रहेको टिनमा, त्यसपछि सिधै तल छोरीले हामफालिन्, त्यसपछि उनी लखेट्दै पछि लागिन् । कारका चालक गौतमले प्रहरी कन्ट्रोल १०० मा फोन गरेर गोली चलेको जानकारी गराए । केहीबेरमा प्रहरी आइपुग्यो, आफन्तले नजिकैको शंकरापुर अस्पताल लगे । छिमेकी सुस्मिता तिवारीका अनुसार बुबालाई गोली हानेको देखेपछि घरबाट फाल हानेर झरेकी छोरीले पाँच सय मिटरसम्म गोली हान्नेलाई पछ्याइरहिन् । ‘एकजना मोटरसाइकल लिएर बाटो छेउमै बसिरहेका थिए,’ उनले भनिन्, ‘अर्का पनि पल्सर मोटरसाइकलमा भागेका थिए, जम्मा तीनजना थिए ।’ तर मोटरसाइकलमा भएका उनीहरुलाई छोरीले रोक्न सकिनन् । प्रहरीले घटनास्थलमा एउटा ‘मेड इन यूएस’ लेखेको पेस्तोल पनि बरामद गरेको छ । मोहम्मदको चाहिँ शंकरापुर अस्पतालमा उपचार सम्भव भएन । टाउकोमा दुई र दाहिने तिघ्रामा एक राउण्ड गोली लागेका उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगियो ।

घटनाको अनुसन्धानमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ । लाल मोहम्मदका रुपमा चिनिए पनि उनको खास नाम मोहम्मद दर्जी हो । उनको पारिवारिक स्रोतका अनुसार मोहम्मदमाथि केही साताअघि पनि आक्रमणको प्रयास भएको थियो । त्यही घटनापछि उनले जम्बुडाँडा प्रहरी चौकीमा आफू असुरक्षित भएको भन्दै निवेदन दिएका थिए ।

मोहम्मदले राष्ट्रिय मानवअधिकार आयोग पनि निवेदन दिएको स्रोतको भनाइ छ । परिवारका सदस्यका अनुसार प्रशासनले बेवास्ता नगरिदिएको भए सायद अहिले यो घटना हुने थिएन । प्रहरीले मोहम्मदको घटनापछि उनको पृष्ठभूमिलाई केलाएर अनुसन्धान थालेको छ । उपत्यका प्रहरी प्रमुख एआईजी धानुकका अनुसार लाल मोहम्मद ‘हत्या अभियोगमा झण्डै १० वर्ष केन्द्रीय कारागार बसेर छुटेका रहेछन् । उनको हत्यालाई आतंकवाद र अन्तर्राष्ट्रिय संगठित अपराध हेर्ने नेपाल प्रहरीको विशिष्टकृत इकाइ विशेष ब्यूरोले पनि चासोका साथ हेरेको छ । मोहम्मदको विगतको विवादास्पद पृष्ठभूमि हो । जानकार स्रोतहरुका अनुसार मोहम्मद विगतमा नेपालबाट हुने जाली भारतीय नोटको कारोबारमा संलग्न व्यक्ति हुन् ।

नेपालमा युनुस अन्सारीलाई नक्कली नोट कारोबारको ‘मास्टर माइन्ड’ मानिन्छ । २०६५ सालमा पक्राउ परेपछि उनलाई जेलमै भारतीय ‘सार्प सुटर’ मनमित भाटियाले गोली हानेका थिए । तर संयोगवश उनी बाँचेका थिए । युनुस जेल गएपछि नेपालमा नक्कली नोट कारोबारको र्‍याकेट सम्हालेका इल्ताफ हुसेन अन्सारीको समूहमा बसेर सोमबार मारिएका लाल मोहमदले काम गरेको स्रोतको दाबी छ । प्रहरी उच्च स्रोतका अनुसार मोहमदले इल्ताफसँग मिलेर २० असार २०६४ मा अनामनगर–बानेश्वर पुल नजिक बलराम पटुवारको हत्या गरेका थिए । बलराम पनि नक्कली नोट कारोबारी भएपनि समूहगत द्वन्द्वका कारण उनी मारिएको बताइन्छ । त्यसबेला अनुसन्धानमा खटिएका हालका एक प्रहरी उपरीक्षक (एसपी) भन्छन्, ‘त्यस घटनामा लाल मोहमद कन्ट्याक्ट किलरका रुपमा प्रयोग गरिएका थिए ।’ इल्ताफले पछि अदालतबाट यो घटनामा सफाइ पाएका थिए । लाल मोहमद चाहिँ लामो समय जेल बसेर छुटेको प्रहरी अधिकृतहरु बताउँछन् । घटनामा बाहिद खान, बडे भाइ भनिने असरफ अली, उपेन्द्र चौधरी लगायत पनि संलग्न थिए । इल्ताफ हुसेन अन्सारी, जसको समूहमा बसेर सोमबार मारिएका लाल मोहमदले काम गरेका थिए । इल्ताफ हाल जेलमा छन् ।

विशेष ब्यूरोको एक रिपोर्ट अनुसार लाल मोहमदले नेपालमा नक्कली नोट कारोबारको बीचको लेयरका रुपमा काम गरेका थिए । त्यही कारण उनी भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को र्‍याडरमा परिरहेका थिए । भारतीय सुरक्षा अधिकृतहरुले नेपाली सुरक्षा अधिकारीहरुसँग उनीबारे समयसमयमा जिज्ञासा राख्ने गरेका थिए । त्यही कारण उनलाई प्रहरीले ‘रेड’ लिस्टमा राखेर निगरानी पनि गरिरहेको थियो । रोचक कुरा त मोहमद जसका लागि काम गर्थे, तिनै व्यक्ति इल्ताफ हुसेन अन्सारी चाहिँ २९ साउन २०७७ मा अपत्यारिलो तरिकाले पक्राउ परेका थिए ।

‘फेक करेन्सी किङ’ भनेर चिनिने अन्सारी नक्कली १५ किलो सुन बोकेर गाडीमा हिँडेको प्रहरी अनुसन्धानले देखाएको थियो । तर उनीजस्तो आपराधिक दुनियाँका खेलाडी नक्कली सुन नै बेच्नुपर्ने अवस्थामा किन ५७ लाख खर्चेर चाँदीमा जलप लगाएर बोकेर हिँडे भन्ने प्रश्नको जवाफ प्रहरीले भेटेको थिएन ।

अझ इल्ताफ जस्तो खुंखार अपराधी बन्दाबन्दीको बेला किन आफैं गाडी चढेर ‘सुन’ लिएर भारत जान खोजे भन्ने प्रश्न पनि अनुत्तरित थियो । त्यसैले इल्ताफको सुनमा कनेक्सनलाई अपत्यारिलो मानिन्छ र उनले आफूलाई थ्रेट महसुस गरेका कारण पक्राउ पर्ने बाटो रोजेको हुनसक्ने विश्लेषणसमेत गरिन्छ । लामो समय जेल बसेर छुटेका युनुस अन्सारी पनि १० जेठ २०७६ मा रहस्यमय तरिकाले ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफैं नक्कली नोट लिन गएका बेला उनी समातिएका थिए । तर इल्ताफका लागि काम गरेका लाल मोहमद चाहिँ भारतीय खुफिया एजेन्सीको शिकार बनेको हुनसक्ने कतिपयको आशंका छ । यद्यपि, पछिल्लो समय नेपालबाट जाली नोटको कारोबार हुने गरेको नदेखिएको सुरक्षा अधिकृतहरु बताउँछन् । नेपाल–भारत सुरक्षा मामिलाका एक जानकार भन्छन्, ‘यदी यसमा भारतीय पक्षको संलग्नता हो भने कुनै बलियो थ्रेट महसुस नगरी यो घटना भएको छैन, त्यसैले अहिले पनि कुनै समूह सक्रिय छन् कि भन्ने शंका गर्ने ठाउँ छ ।’ भारतविरुद्ध गतिविधि गरेको दाबीमा पेशेवर अपराधीको प्रयोगबाट फैजान अहमद, महमुद आलम, रमाशंकर यादवलगायत मारिएको इतिहास छ । युनुस अन्सारी स्वयम्को पनि जेलभित्रै हत्या प्रयास भएको छ । यस्तो अवस्थामा मोहम्मदको हत्यापछि पनि यस्तै कारण हुनसक्ने आशंकालाई नकार्न सकिन्न ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय