१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

अदालतले प्रेस काउन्सिललाई एकै दिन दुई वटा पुर्जी काटेपछि कर्मचारी अलमल्ल



काठमाडौं । काठमाडौं जिल्ला अदालतले एकैदिन प्रेस काउन्सिल नेपाल को नाममा दुई वटा पुर्जी काटेको छ । अदालतबाट भदौ २४ गते एउटै विषयमा दुई पटक पत्र काटेको हो । निवेदनसहितको फाइल पठाइदिने सम्बन्धमा अदालतले दुईचोटि पत्र काटेपछि काउन्सिलका कर्मचारी अलमल्ल परेका छन् । कुन पत्र सक्कली, कुन नक्कली कर्मचारी यकिन छैनन् । मिति, फाँट नम्बर एउटै भएपनि चलानी नम्बर र शाखा अधिकृतको दस्तखत भने फरक रहेको छ । मुद्दा फाँट नम्बर ३२ भनेर पत्रमा उल्लेख छ । तर, एउटाको चलानी नं १६६३६ र अर्कोमा १६७९७ राखिएको छ । एउटै फाँटबाट जारी भएको पत्रमा छुट्टाछुट्टै शाखा अधिकृतको हस्ताक्षरले भने आश्चर्यचकित बनाएको हो ।

पहिलो पत्रमा भनिएको छ, ‘उपरोक्त विषयमा निवेदक एनआईसी एशिया र प्रतिवादी अनलाइन पाना न्युज पोर्टलको कार्यालयसमेत भएको निषेधाज्ञा मुद्दामा यस अदालतको मिति २०७९–२–२० गरेको आदेशानुसार यो पत्र लेखिएको छ । अतः अनलाइनपाना न्युज पोर्टल र सोका प्रधान सम्पादकबीच प्रेस काउन्सिल नेपालमा दर्ता नम्बर ४२५ मिति २०७९–१–२२ मा निवेदन दिएको सम्बन्धमा के कारबाही निर्णय भएको छ वा के भई टुङ्गो लागेको छ वा छैन ? सो निवेदनसहित कागजातसहितको फाइल यस अदालतमा पठाइदिनुहुन अनुरोध गरिन्छ ।’

त्यस्तै दोस्रो पत्रमा अदालतले भनेको छ, ‘प्रस्तुत मुद्दा मिति २०७९–२–२७ गते अन्तरिम छलफलको लागि पेशी चढेको हुँदा अगावै फाइल पठाइदिनुहुन अनुरोध गरिन्छ ।’ अदालतले पठाएको पत्रमा शीर्षकमै गडबड छ । काठमाडौंसमेत सही तरिकाले लेखिएको छैन । काठमाडौं हुनुपर्ने ठाउँमा ‘काठामाडौ’ भएको छ । मुद्दा फाँट नम्बर ३२ हाल सञ्चालनमा नरहेको अदालतका सूचना अधिकारी दीपक दाहालले बताए । लामो समयदेखि ३२ लाई २७ नम्बर फाँट बनाएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !