१० आश्विन २०७९, सोमबार
 |   Mon Sep 26 2022
Logo

ओलीले रतुवा खोलाबासीलाई ढाटेको ३० वर्ष



झापा। रतुवा र मावा नदीको बीचमा पर्छ दमकबजार । रतुवा त झन् उत्तरदेखि दक्षिणसम्मै बग्दा झापा क्षेत्र नं. ५ को बाटो भएर जान्छ । तर सधैंभरि उस्तै रहेर आफ्नो लयमा बग्दैन । त्यसैले यस क्षेत्रका नागरिकलाई रतुवाको भरोसा भन्दा आतंक धेरै छ । यो कुरा राज्य संयन्त्रले नबुझेको होइन, नेताहरूले नबुझेका होइनन् । ३० वर्षदेखि रतुवा र मावा आसपासको क्षेत्रलाई नै आधार बनाएर राजनीति गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली त झन् रतुवाको बाढीबारे धेरै नै जानकार छन् ।

त्यसैले उनले २०४८ सालयताको प्रत्येक चुनावमा रतुवा र मावाको पाता फर्काउने घोषणा गरिरहेका छन् । तर कुनै त्यस्तो वर्ष छैन, यी नदीहरूको वितण्डाका कारण किनारका नागरिकको घरबास भत्किएको नहोस्, खेतीपाती गर्ने जमिन गुमेको नहोस् । यसपालिको बाढीले पनि दमक नगरपालिकाको वडा नं. ७, कमल गाउँपालिका-६ को खयरमारा क्षेत्र, गौरादह नगरपालिका-५ चप्रमारी क्षेत्रमा विध्वंस मच्चाएको छ ।

स्थानीय तहको चुनावमा भोट माग्ने नेताहरूले तटबन्ध गरिदिन्छौं भनेका थिए, आउँदै गरेको संघीय र प्रदेशको निर्वाचनमा पनि रतुवाको बाँध नै भोट माग्ने माध्यम हुँदैछ भन्ने यस क्षेत्रका नागरिकलाई राम्रै गरी थाहा छ । भाषण सुनेपछि जनताले भरोसा गरेर २०७४ को निर्वाचनमा एमाले अध्यक्ष ओलीलाई भोट हालेकै हुन् । त्यसअघिका अरू ६ वटा निर्वाचनमा पनि ओलीलाई भोट हालेकै थिए जनताले । उनी प्रधानमन्त्री पनि भए । तर ओलीले भाषण गरेझैं रतुवा र मावाको पाता फर्किएन, बरु बस्ती र बालीतिर पसेको बाढीले जनताको विचल्ली बनायो ।

२०४८ सालमा पहिलो पटक चुनाव लड्दा एमाले अध्यक्ष ओलीले रतुवा र मावाको तटबन्ध गरेर पाता फर्काउने कबुल गरेका थिए । ओली यही क्षेत्रबाट चुनाव लड्न थालेको ३० वर्ष भयो, तर न रतुवाको पाता फर्कियो, न नदी किनारका नागरिकको दिन नै ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: