७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

राष्ट्रपतिको कदममा एमाले : भ्रातृ संगठन सडकमा उतारेर शीर्ष नेता मौन



काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदममा एमालेका शीर्ष नेताहरुले मौन बस्ने नीति लिएका छन् ।तर, एमालेका भ्रातृ संगठन अनेरास्ववियु र युवा संघका कार्यकर्ता भने राष्ट्रपतिको पक्षमा उनको तस्वीर छातीमा टाँसेर सडकमै उत्रिएका छन् ।नेकपा एमाले निकट विद्यार्थीको संगठन अनेरास्ववियुले र युवाहरुको संगठन युवा संघ नेपालले राष्ट्रपति भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन नै गरेको छ ।युवासंघले बानेश्वर–माइतीघर सडकखण्डमा गरेको प्रदर्शनमा महेश बस्नेत लगायत एमालेका नेताहरु समेत सहभागी छन् ।

एमाले नेता तथा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले समेत प्रदर्शनमा गएर सरकारको विरोधमा र राष्ट्रपतिको समर्थनमा चर्को भाषण गरेका छन् ।भ्रातृ संगठन सडकमै उतारेका एमाले शीर्ष नेताहरु भने राष्ट्रपतिको कदमको विषयमा टिप्पणी गरिरहेका छैनन् ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ आफू केही दिनदेखि बिरामी रहेको बताउँछन् । ‘म केही दिनदेखि बिरामी छु । यस (राष्ट्रपतिको कदम)मा अहिले टिप्पणी गर्दिनँ’ उपनेता नेम्वाङले अनलाइनखबरसित भने ।
एमाले संसदीय दलका सचेतक शान्ता चौधरी पनि ‘राष्ट्रपतिको निर्णयका सन्दर्भमा’ नबोल्ने बताउँछिन् ।

एमालेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ आफूलाई नागरिकता विधेयकमा रहेका विषयहरुमा जानकारी नै नरहेको बताउँछन् । ‘म प्रदेश सभामा केन्द्रित भएको हुनाले संघीय संसदमा आएको नागरिकता विधेयकका विषयमा म जानकार छैन । प्रतिनिधिसभाका जिम्मेवार नेताहरुलाई फोन गर्नुहोला’ गुरुङको सुझाव छ ।


प्रतिक्रिया दिनुहोस !