१० आश्विन २०७९, सोमबार
 |   Mon Sep 26 2022
Logo

हेलिप्याड बनाउन धार्चुला लगिएका ११ जना मजदुर ३९ दिनदेखि दार्चुलामा अलपत्र



काठमाडौं । दशैंको मुखमा सिन्धुपाल्चोक भोटकोसी गाउँपालिका- २ को एकै गाउँका ११ मजदुर दार्चुलामा अपलत्र परेका छन् । भोटेकोसी- ४ कै ठेकेदार ग्याल्जेन तामाङ र उनका छोरा राजकुमार तामाङले तीन महिनाअघि भारतको धार्चुलामा हेलिप्याड बनाउन लगेका मजदुरहरु घर फर्कने भाडासमेत नभएर दार्चुलामा रोकिएका हुन् ।

दशैं मनाउन सबै घर फर्किरहेका वेला एकै गाउँका ११ जना मजदुरहरु भने ४७ दिनसम्म बगाएको पसिनाको पारिश्रमिक माया मार्नुपर्ने अवस्थामा पुगेका छन् । उनीहरु ३९ दिनदेखि दार्चुला सदरमुकामको मोहित होमस्टेमा रोकिएका छन् । खाली हात भए पनि घर जान खोजिरहेका मजदुरहरुसँग कुनै विकल्प छैन । घरसम्म पुग्ने गाडी भाडासमेत नभएका उनीहरु ठेकेदारको लापरवाहीले होमस्टेमा थुनिएका छन् ।

यता सिन्धुपाल्चोमा भने तीन महिनादेखि कमाउन गएकाको प्रतीक्षामा छन् परिवारका सदस्य । ११ जनामध्ये एक मानबहादुर भन्छन्, ‘हामी यहाँबाट खाली हात गयौं भने घरमा दशैं रोकिन्छ । खाली हातै भए पनि घर पुग्न भाडासमेत छैन । हामीलाई ठेकेदारले फसायो । हामी अलपत्र पर्‍यौं ।’उनीहरुलाई ठेकेदार ग्याल्जेन र उनका छोराले धार्चुलामा हेलिप्याड बनाउन तीन महिनाअघि सिन्धुपाल्चोकबाट लगेका थिए । हेलिप्याड बनाउनु थियो, धार्चुलाको दाबे भन्ने ठाउँमा । जहाँ नजिकै भारतीय सीमा सुरक्षा बल (एसएसबी)को पोस्टसमेत छ । अक्सिजन पनि राम्रोसँग नपुग्ने ठाउँमा मानबहादुरलगायतले हेलिप्याड बनाए ।

५७ वर्षीय मानबहादुरका अनुसार ठेकेदार ग्याल्जेनले बाहिर पर्खाल उठाएको घनमिटरको दुई हजार, डीपीसी गरेको घनमिटरको २२ सय र सोलिङको १६ सय दिने भनेका थिए । सँगै गएको भाडासमेत तिरिदिने, आफ्नो पैसाले बस्नु नपर्ने, फाइदा हुन्छ भनेपछि लोभिएका मजदुरहरु भारतको धार्चुला पुगेका थिए । तर, उनीहरु दशैंको मुखमा कोसौं टाढा दार्चुलामा अड्किएका छन् ।

सिन्धुपाल्चोकबाट ठेकेदारको पछि लागेर धार्चुला पुगेका उनीहरु त्यहाँबाट पनि एकदिन गाडीमा निर्माणस्थल गएका थिए । त्यहाँबाट लेक लाग्ने बाटोमा हिँडेर वेदन भन्ने ठाउँ पुगे । वेदनमा पनि हेलिप्याड बनाउनुपर्ने रहेछ । तर, उनीहरुले वेदनबाट हिँडेर १८ किलोमिटर माथि दाबे भन्ने ठाउँमा पुगेर हेलिप्याड बनाए ।

मानबहादुरसँगै उनकै गाउँका ३७ वर्षीय सञ्जय तामाङलाई दुई छोरा, एक छोरी र श्रीमतीले सिन्धुपाल्चोकमा कुरेर बसिरहेका छन् । भन्छन्, ‘रित्तो हात त मरे पनि घर जान्नँ । लालाबालाको अघि दशैंमा के मुख देखाएर जानू !’

३५ वर्षीय पासाङ तामाङको विवशता पनि संजयको भन्दा फरक छैन । राजु तामाङ, सोनाम दोर्जे तामाङ, वीरबहादुर तामाङ र सोनाम तामाङको व्यथा पनि उस्तै छ ।

घरमा बूढीआमा र हजुरआमालाई छाडेर पैसा कमाउन र दशैं टार्न धार्चुला पुगेका २४ वर्षीय दावा छिरिङ तामाङ भन्छन्, ‘घरमा कमाउने नै म हो । आमा र हजुरआमा मलाई नै कुरेर बसेका छन् । तर, यत्रो पसिना बगाएर पनि पैसा नपाउँदा चित्त दुखेको छ ।’

श्रीमतीले छाडेर गएपछि दुई नाबालिग छोरी र आमालाई हेरिरहेका कालु तामाङले त सोचेका थिए, पैसा पाएपछि काठमाडौं गएर लत्ताकपडा किन्ने, दशैंलाई चाहिने सामान काठमाडौंबाटै लिएर जाने । तर, ठेकेदार ग्याल्जेन धार्चुलातिरै बेपत्ता भएपछि कालुको सपना पनि धार्चुलातिरै बेपत्ता भयो । आइतबहादुर थामी र अर्जुन राउतको हालत पनि उस्तै छ ।

मानबहादुरका अनुसार ग्याल्जेन सीमापारि नै आफ्नो पार्टनरसँग बसेका छन् । मोहन शाही नाम गरेका ग्याल्जेनका पार्टनर पश्चिम नेपालतिरका हुन् । मानबहादुर भन्छन्, ‘मोहन शाही बालबच्चा लिएर भारतमै बस्दोरहेछ । ग्याल्जेन र ऊ मिलेर मुसलमानबाट ठेक्का लिँदारहेछन् । मुसलमानले आधा पैसा खाएर उनीहरुलाई ठेक्का दिँदोरहेछ । त्यसैमा हामीलाई काम लगाउँदो रहेछ ।’

पीडित मजदुरहरुले पैसा माग्दा उल्टै थर्काइ खान्छन् । थर्काउने, पैसा पनि नदिएपछि मजदुरहरुले अबको विकल्पबारे सोच्न सकेका छैनन् । पीडित मजदुरहरुले दार्चुलाकै जिल्ला प्रशासनमा उजुरी हालेको बताए पनि दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले उजुरीबारे जानकारी नभएको प्रतिक्रिया दिए । उनले नेपालप्रेससँग भने, ‘उजुरी हालेकोबारे थाहा छैन । हाल्नुभएको पनि होला, म बुझ्छु ।’

यता पीडित मजदुरका वडाध्यक्ष राजकुमार श्रेष्ठ भने आफूले जिल्ला प्रशासनमा गएर कागज गराउनु भनेर सुझाव दिएको बताए । उनले नेपालप्रेससँग भने, ‘पीडितहरु मेरै वडाका हुन् । ठेकेदारले भारतबाट पैसा नदिएकाले पैसा नपाएको भन्छन् रे ! जिल्ला प्रशासनमा गएर कागज बनाउनू, आउने व्यवस्था म मिलाउँला भनेको छु ।’


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: