१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

अनुसन्धानमा रहेका आठ ट्रक सुपारी छुटाउन आर्थिक चलखेल



काठमाडौं । प्रहरीले अवैध भन्दै नियन्त्रणमा लिएको सुपारी छुटाउनका लागि अदालतमा रिट दायर गरेका निर्यातकर्ताले शंकाष्पद रुपमा रिट फिर्ता लिएका छन् । सरकारकै उपल्लो तहमा सेटिङ मिलेपछि उनी रिट फिर्ता लिन तयार भएको स्रोत बताएको छ ।

मोरङ प्रहरीले गत साउन ५ गते भन्सार जाँच पास भई नेपालबाट भारत निर्यात भइरहेको ८ ट्रक सुपारी नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो  । उक्त सुपारीमाथि अनुसन्धान सुरु भएसँगै निर्यातकर्ता मनकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरेले साउन २६ गते उच्च अदालतमा रिट दायर गरेका थिए । उनले जिल्ला प्रहरी कार्यालय मोरङ, राजस्व अनुसन्धान कार्यालय इटहरी र विराटनगर भन्सार कार्यालयलाई प्रतिवादी बनाएका थिए । तर भित्रभित्रै ‘कुरा मिलाएर’ उनलाई रिट फिर्ता लिन लगाइएको हो ।

नेपाल प्रहरीले पक्राउ गरी राजश्वमा पठाएको सुपारी अब अनुसन्धानबिना छुटाउने तयारी भएको स्रोतको दाबी छ । यही प्रतिविद्धतामा घिमिरेले हालेको रिट फिर्ता लिन उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए । उच्च अदालत विराटनगरका न्यायाधीश मुरारीबाबु श्रेष्ठ र राजनप्रसाद भट्टराईको संयुक्त इजलासले रिट फिर्ताको आदेश दिइसकेको छ ।

राजस्व विभागका महानिर्देशक झलकराम अधिकारीले सुपारीको विषयमा के भइरहेको छ भन्ने आफूलाई कुनै जानकारी नभएको बताए । राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत रहन्छ । सुपारी पक्राउ परेपछि प्रधानमन्त्री कार्यालयले चासोका साथ हेरेको थियो । निर्यातकर्तासँग प्रधानमन्त्री कार्यालयको उच्च तहबाटै ‘नेगोसिएसन’ भएको पनि स्रोतको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय