८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

नेपालमा ६० हजार उद्योग, ३ लाख ८१ हजारलाई रोजगारी



हेटौँडा । नेपालमा उद्योगको संख्या ६० हजार नाघेको छ । उद्योगमा प्रत्यक्ष रुपमा रोजगार पाउनेहरुको संख्या ३ लाख ८१ हजार ६ सय ८७ जना रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजा अनुसार नेपालमा ६० हजार १ सय ८५ वटा उद्योग रहेको पाइएको हो ।

सर्वेक्षणले औद्योगिक क्षेत्रलाई चार क्षेत्रमा राखेर विभाजन गर्दै सर्वेक्षण गरेको थियो । सर्वेक्षण अनुसार सबैभन्दा धेरै उद्योग औद्योगिक उत्पादन तर्फका उद्योगहरु रहेको देखिएको छ। औद्योगिक उत्पादन  तर्फ ठुला तथा साना गरि ५६ हजार ६ सय ११ उद्योगहरु रहेका छन् ।

खानी तथा उत्खनन् उद्योग तर्फ ३ सय ५६ वटा, विद्युत तथा ग्यास तर्फ ९ सय ९४ र पानी आपूर्ति, ढल निकास, फोहोर ब्यवस्थापन तफए २ हजार २ सय २४ वटा उद्योगहरु रहेको विभागले जनाएको छ ।

विभागको तथ्याङ्क अनुसार सबैभन्दा धेरै उद्योगहरु बागमती प्रदेशमा रहेको छ । चार प्रकारका उद्योग गरेर बागमती प्रदेशमा १८ हजार ३ सय ३३ उद्योगहरु सञ्चालन मा रहँदा प्रदेश नंबर १ मा १२ हजार २ सय २५, लुम्विनी प्रदेशमा १० हजार ५ सय ८ वटा उद्योग सञ्चालनमा रहेका छन् ।

त्यस्तै मधेश प्रदेशमा ७ हजार २ सय ७९ उद्योग, गण्डकी प्रदेशमा ६ हजार ८ सय १८, सुदुरपश्चिममा ३ हजार ३ सय ८७ तथा कर्णाली प्रदेशमा १ हजार ६ सय ३५ उद्योग रहेका छन् । नेपालमा औद्योगिक उत्पादन तर्फ ठुला उद्योगको संख्या भने ५ हजार १७ वटा मात्र रहेको र बागमती प्रदेशमा मात्र १ हजार ५ सय ८१ वटा रहेको छ ।

नेपालमा रहेका ६० हजार माथिका उद्योगमा ४ लाख ९१ हजार २ सय २७ जना संलग्न रहेपनि प्रत्यक्ष रोजगारी भने ३ लाख ८१ हजार ६ सय ८७ जनाले पाएको विभागले जनाएको छ । बागमती प्रदेशमा मात्र सबैभन्दा धेरै १ लाख २६ हजार ७ सय ६२ जनाले उद्योगबाट प्रत्यक्ष रोजगार पाइएको  छ ।

उद्योगनै कम रहेको कणाीलीमा भने ४ हजार ३ सय ३६ जनाले मात्र उद्योगमा रोजगारी पाएका छन् । प्रदेश नंबर १ मा ७३ हजार ९ सय १८ जनाले रोजगारी पाउँदा मधेश प्रदेशमा ६८ हजार ४ सय ८८ जना, लुम्विनिमा ६७ हजार १ सय ९२ जना, गण्डकी प्रदेशमा २६ हजार ६ सय ५८ जना तथा सुदुरपश्चिम प्रदेशमा १४ हजार ३ सय ५ जनाले रोजगारी पाएका छन् ।

एक वर्षमा १ सय ७ अर्ब तलब वितरण, उद्योगसँग ६ सय अर्बको सम्पत्ति

६० हजार उद्योगले कर्मचारीलाई तलब, भत्ता र सुविधा बापत वार्षिक रुपमा १ सय ७ अर्ब ८९ करोड अर्थात १ खर्ब ७ अर्ब ८९ करोड रुपैँया खर्च गर्ने गरेको विभागले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै औद्योगिक उत्पादनमा काम गर्ने श्रमिकहरुलाई तलब वितरण हुने गरेको छ ।

औद्योगिक उत्पादनमा कार्य गर्ने श्रमिकहरुलाई ९५ अर्ब ७७ करोड रुपैँया तलब भत्तामा खर्च हुने देखिएको छ भने खानी तथा उत्खनन क्षेत्रमा १ अर्ब ८० करोड, विद्युतm ग्यास तर्फ ६ अर्ब ९२ करोड तथा पानीको आपूर्ति, ढल निकास तथा सरसफाई उद्योग तर्फ ३ अर्ब ४० करोड तलब÷ज्याला र भत्तामा खर्च हुने गरेको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक विनोदशरण आचार्यले बताए ।

तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा संञ्चालनमा रहेका उद्योगहरुसँग ६ सय १९ अर्ब ५१ करोड रुपैँया बराबरको सम्पती रहेको छ ।

लागत मूल्य, उत्पादन मूल्य, मूल्य अभिबृद्धि र लागत उत्पादन अनुपातलाई विश्लेषण गर्दा देशको चारवटै औद्योगिक प्रतिष्ठानहरुले देशभरमा करिब ८ खर्ब ४६ अर्ब ६६ करोड मूल्य बराबरको लागत रुपमा खर्च गरेर १२ खर्ब १ अर्ब १७ करोड रुपैँया बराबरको बस्तु उत्पादन गर्ने गरेका छन् । यसरी उत्पादनको हिसावमा नेपालको अर्थतन्त्रमा ३ खर्ब ५४ अर्ब ५१ करोड रुपैँया बराबरको मूल्य अभिबृद्धि भएको र लागत उत्पादन अनुपात ० दशमलव ७० रहेको पाइएको छ ।

३९ प्रतिशत उद्योगले मात्र गर्छ पूर्ण क्षमताको उत्पादन

नियमित सञ्चालनमा रहेका उद्योमा ३९ प्रतिशत उद्योगले मात्र पूर्ण उत्पादन क्षमताको उपयोग गर्ने गरेको विभागले जनाएको छ । १८ प्रतिशत उद्योगले ७५–९९ प्रतिशत, २९ प्रतिशत उद्योगले ५०–७४ प्रतिशत र बाँकीले २५ प्रतिशत भन्दा कम मात्र उपयोग गरेको पाइएको आचार्यको भनाई छ । सर्वेक्षण अनुसार नेपालमा ७६ प्रतिशत उद्योगहरु २७० दिन या सो भन्दा धेरै दिन सञ्चालन भएको पाईएको छ ।


प्रतिक्रिया दिनुहोस !