१० आश्विन २०७९, सोमबार
 |   Mon Sep 26 2022
Logo

राजनीतिबाट सन्यास लिँदैछु : विमल श्रीवास्तव



वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विमल श्रीवास्तवले राजनीतिबाट सन्यास लिने बताएका छन् । लोसपा परित्याग गरेर उनी एमालेमा प्रवेश गर्ने चर्चा चलिरहेका बेला राजनीतिबाट सन्यास लिन लागेको बताएका हुन् ।

केहिदिन अघि उनले चुनाव नलड्ने मनस्थिति मात्रै बनाएको बताएका थिए । लोसपाका कार्यकारिणी सदस्य समेत रहेका श्रीवास्तवले अनलाइनखबरसँगको कुराकानीमा आफू राजनीति नै नगर्ने भन्ने निर्णयमा पुगेको बताए ।राजनीतिमा नयाँ युथहरुलाई मौका दिनुपर्छ नि, सधैं हामी नै चुनाव लड्ने, सधैं हामीले नै पार्टीमा नेतृत्व गर्ने कुरा पनि त भएन नि’, उनले भने ‘त्यसैले राजनीतिबाट नै सन्यास लिने सोच बनाएको छु । बरु सामाजिक काममा लाग्छु । ’

५५ वर्षदेखि राजनीतिमा सक्रिय श्रीवास्तव एक पटक वडा अध्यक्ष, चार पटक मेयर, दुई पटक सांसद र एकपटक मन्त्री समेत भइसकेका छन् ।उनले तमलोपाबाटै संविधानसभा सदस्यमा चुनाव जितेका थिए । तमलोपा सहितको मधेसी दल मिलेर राष्ट्रिय जनता पार्टी बनेपछि उनी त्यसैमा सक्रिय थिए । तर २०७४ सालको स्थानीय चुनावमा वीरगञ्जको मेयरमा राजपाले राजेशमान सिंहलाई टिकट दिने भएपछि श्रीवास्तव विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन नेपाल लोकतान्त्रिक फोरमबाट मेयरमा उठे । तर उनी पराजित भए ।

चुनावमा होमिनका लागि जुनसुकै तरिका अपनाउन सक्ने व्यक्तिको रुपमा परिचत उनी मेयरमा पराजित भएपनि रोकिएनन् । तत्कालै संघीय समाजवादी फोरममा प्रवेश गरेर पर्सा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडे । मेयरमा पराजित भएका उनी प्रतिनिधि सभा सदस्यमा भने विजयी भए ।

उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्व सरकारमा १८ दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत बने । स्थानीय निर्वाचनमा वीरगञ्जमा एमालेसँग चुनावी तालमेल गराउन सक्रिय भूमिका निर्वाह गरेका श्रीवास्तव हाल लोसपामा नै छन् ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: