१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सम्धिनीको टिकटका लागि राष्ट्रपति भण्डारीको प्रधानमन्त्री देउवालाई फोन !



काठमाडौं । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी सम्धिनी किरण यादवलाई महोत्तरीको क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिलाउने सिफारिसका निम्ति फोन गरेको राजनीतिक बृतमा चर्चा चलेको छ । किरण त्यही निर्वाचन क्षेत्रबाट ०७४ मा पनि उठेकी थिइन् । त्यसबेला राजपाबाट उठेका शरदसिंह भण्डारीले ३० हजार ७ सय २२ मत ल्याएर जित्दा किरणले १३ हजार ९ सय ७४ मत पाएकी थिइन् । यसरी उनी १६ हजार ७ सय ४८ मतले पराजित भइन् ।

अहिले उनलाई त्यहीँबाट टिकट दिनुप¥यो र त्यसका लागि शरदसिंह भण्डारीलाई क्षेत्र नं. ४ मा जान भनिदिनुप¥यो भनी सम्माननीय राष्ट्रपतिले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवादेखि शरदसिंह निकट केही नेतालाई फोन गर्नुभएको प्रसंग पाँचदलीय गठबन्धनका शीर्ष नेताको बैठकमा उठेको छ । अहिले महन्थ ठाकुर नेतृत्वको लोसपामा रहेका पूर्व काँग्रेसी शरदसिंह सत्तारुढ गठबन्धनअन्तर्गतका नेता हैनन् । लोसपाले तराईमा एमालेसँग गठबन्धन गर्ने चर्चा छ । तर, किरणलाई टिकट दिनुपर्ने कांग्रेसले र क्षेत्र छोडिदिनुपर्ने शरद्सिंहले भन्ने अवस्था छ ! यो दुःख सुल्झाउन राष्ट्रपतिले सीधै शरदसिंहलाई त भन्न सक्नुभएको छैन । अरुमार्फत् सन्देश पुगेको स्वयं शरदले जनआस्थाको कुराकानीमा स्वीकार्नुभएको छ । किरणले प्रत्यक्षमा दावी गर्दा समानुपातिक सूचीमा सुनिश्चित होइन्थ्यो भन्ने इच्छा पालेको बुझ्न सकिन्छ ।

अहिले नेपाली कांग्रेसको सिफारिस सूचीमा किरण यादवको नाम क्षेत्र नं. २ बाट एकल सिफारिसमा परेको छ । तर, शरद्सिंह उठ्दा फेरि पनि हार्छु भन्ने त्रास छ । त्यहीँबाट समानुपातिकतर्फ सरोजकुमार यादव, ओमशंकर यादव, लक्ष्मीनारायण सिंह, महेन्द्रकुमार झा, सिकली यादवसहित सात जनाको नाम सिफारिस भएको छ । किरणकी बहिनी रेखा क्षेत्र नं. १ को प्रदेशसभा ‘ख’ बाट सिफारिसमा परेकी छन् । उनीसँगै ओमनारायण महासेठ, महेश सिंह र गोरकुल सिंहको पनि नाम छ ।

राष्ट्रपतिकी कान्छी छोरी निशाकुसुमको विवाह किरणका छोरा अभिषेक यादवसँग भएको हो । किरण प्रथम राष्ट्रपति डा.रामवरण यादवकी भतिजी हुन् । किरणका बुबा रामलगनको खैनी, सिगरेट र पानपराग सेवनका कारण २०५६ सालमा क्यान्सर रोग लागेर निधन भएको थियो । त्यसपछि उनीहरुको रेखदेख डा.रामवरणले नै गर्दै आउनुभयो । जबकि किरण आफैँ नेपाली कांग्रेसकी मनोनित केन्द्रीय सदस्य हुन् भने रामवरणका छोरा डा.चन्द्रमोहन यादव निर्वाचित केन्द्रीय सदस्य हुन् ।


प्रतिक्रिया दिनुहोस !