७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

प्रेम आलेलाई डोटी जिम्मा लाएर कैलाली-४ झर्दै बलायर



कैलाली । प्रतिनिधिसभाको एक सीटका लागि त्रिपक्षीय दाबी रहेको डोटीमा सहमति जुट्ने सम्भावना बढेको छ । यहाँ नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले सशक्त दाबी गरेका थिए ।

कांग्रेसबाट प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायर, नेकपा एसबाट पूर्वमन्त्री प्रेम आले र माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दाबी गरेका थिए । कांग्रेसमा बलायरबाहेक प्रदेशसभा सदस्य भरतबहादुर, यज्ञराज पाठक, गोरख विष्ट (आनन्द) र धिरेन्द्र शाहीको सिफारिस छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवानिकट रहेका प्रदेश सभापति बलायरको सम्भावना बढिरहेको बालुवाटार स्रोतको दाबी छ ।

देउवा सरकार निर्माणमा महत्वपूर्ण भूमिका खेलेका आलेले पनि डोटीमा सशक्त दाबी गरेपछि देउवालाई गठबन्धनमा भाग मिलाउन समस्या परेको थियो । तर, अहिले बलायर कैलाली ४ मा चुनाव लड्न तयार भएपछि डोटी नेकपा एसले पाउने निश्चितजस्तै भएको हो ।

डोटी छोडेर कैलाली ४ आउने तयारीबारे नेपाल प्रेसको जिज्ञासामा बलायरले संक्षिप्त जवाफ दिए ‘हो’ । ‘त्यो पक्का हो’ उनले थपे ‘करिब करिब त्यही पक्का हो ।’

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि उनले आफू कैलाली ४ आउन राजी भएको जनाइसकेका छन् । केही दिन पहिले देउवाले डोटीबाट बलायरलाई कैलाली ४ वा ५ रोज्न विकल्प दिएको स्रोतको दाबी छ । बलायरले भने ५ भन्दा ४ सुरक्षित रहेको भन्दै आफू ४ नम्बर क्षेत्रबाट निर्वाचन लड्न तयार भएको जनाएका थिए ।

बलायर क्षेत्र नम्बर ४ मा निर्वाचन लड्ने मनस्थितमा पुगिसक्दा यस अघि क्षेत्र नम्बर ४ बाट निर्वाचनमा होमिने योजनामा रहेकाहरूलाई भने देउवाले अझै सम्म मनाउन सकेका छैनन् । यस अघि यहाँ देउवाका समकक्षी सुनिल भण्डारी र युवा नेता नैनसिंह महरको सम्भावना बढी रहेको थियो । तीबाहेक प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकको नाम पनि सिफारिस भएको थियो ।

प्रदेश सभापति बलायरले रोजेको कैलाली क्षेत्र नम्बर ४ मा अघिल्लो पटक बाम गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार सुनिल भण्डारीलाई हराउँदै तत्कालीन माओवादी केन्द्रका नेता लेखराज भट्ट विजयी भएका थिए । भट्टले १० हजार ३९९ मतान्तरले भण्डारीलाई हराएका थिए । अहिले पनि नेकपा एमालेको तर्फबाट भट्ट नै उम्मेदवार बन्ने करिब पक्का भइसकेको छ । यो क्षेत्रमा गठबन्धनबाट नेपाली कांग्रेसहित नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको पनि सशक्त दाबी रहेको थियो । तर, डोटी नेकपा एकीकृत समाजवादीलाई दिएर बलायर कैलाली ४ मा आउन चाहेको अवस्थामा यो क्षेत्र कांग्रेसले पाउने निश्चित जस्तै छ ।

स्थानीय तहमा वडाध्यक्षले पाएको मतको आधारमा यस क्षेत्रमा कांग्रेस २२ हजार ९९७, एमाले २० हजार ०८१, माओवादी १० हजार १२३, नेकपा एस ४ हजार २९ र राप्रपा ३ हजार २३४ छ ।


प्रतिक्रिया दिनुहोस !