८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

अमेरिकी एसपीपी जस्तै चीनको जीएसआईमा सहभागी नहुन परराष्ट्रले राष्ट्रपतिलाई पत्र पठाएको खुलासा



काठमाडौं । चीनद्वारा हालै बेइजिङमा आयोजित ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) सम्बन्धी सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सहभागी नहुन परराष्ट्र मन्त्रालयले लिखित रुपमै सुझाव दिएको खुलेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले नै सहमति दिएकाले परराष्ट्रका तर्फबाट दिइएको सुझावविपरीत राष्ट्रपतिले उक्त सम्मेलनमा ‘प्रि रेकडेर्ड’ भिडिओ सन्देश पठाएर सहभागिता जनाइन्। गत बुधबार उक्त सम्मेलन आयोजना भएको थियो। सम्मेलनमा चीनले अघि बढाएको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) अन्तर्गत विश्व शान्ति लगायतका विषयमा छलफल भएको थियो।

जीएसआई चिनियाँ नेतृत्वको अघोषित सैन्य गठबन्धन भएकाले त्यससम्बन्धी कार्यक्रममा नेपालको राजनीतिक नेतृत्वले भाग लिँदा त्यो अवधारणा स्वीकार गरेको देखिने र त्यो असंलग्न परराष्ट्र नीति विपरीत हुने बुझाइ परराष्ट्र मन्त्रालयको थियो। 

त्यही बुझाइअनुसार परराष्ट्रमन्त्री नारायण खड्काले राष्ट्रपतिलाई सो सम्मेलनमा भाग नलिन लिखित तथा मौखिक रुपमा आग्रह गर्न परराष्ट्र अधिकारीलाई निर्देशन दिएका थिए। उनको निर्देशनअनुसार राष्ट्रपति भण्डारीलाई सम्मेलनमा भाग नलिन लिखित पत्र बुझाएरै आग्रह गरिएको अधिकारीहरुले बताए।

पत्रको अर्को अनुच्छेदमा भनिएको छ, ‘चिनियाँ राष्ट्रपतिले ल्याउनु भएको Global Security Initiative (GSI) का बारेमा नेपाल सहभागी हुने नहुने विषयमा उच्च तहमा छलफलका क्रममा रहेको र कुनै ठोस धारणा नबनिसकेको हुँदा GSI र सोसँग जोडिएर आउने कार्यक्रममा नेपालले आधिकारिक निर्णयमा नपुगेसम्मको लागि सहभागि हुन उपयुक्त नहुने व्यहोरा निर्देशानुसार अनुरोध छ।’ 

बेइजिङमा आयोजित जीएसआई सम्बन्धी सम्मेलनमा राष्ट्रपति भण्डारीलाई सहभागी गराउन चिनियाँ दूतावासले कूटनीतिक र राजनीतिक दुवै च्यानलबाट प्रयास गरेको थियो। दूतावासले गत सेप्टेम्बर १२ मा परराष्ट्र मन्त्रालयलाई निमन्त्रणा पत्र बुझाएको थियो। 

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणकै क्रममा चिनियाँ दूतावासका अधिकारीले परराष्ट्रलाई पत्र हस्तान्तरण गरेका थिए। तर एक सातासम्म परराष्ट्रले त्यसबारे जवाफ नदिएपछि दूतावासले राष्ट्रपति कार्यालयमा पनि ताकेता गरेको थियो। 

ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) चीनले विश्वसुरक्षाका लागि अघि सारेको एउटा नयाँ अवधारणा हो। गत वैशाख ८ गते बोआओ फोरमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सीले औपचारिक रुपमा उक्त अवधारणा अघि सारेका थिए। अमेरिका लगायतका पश्चिमा मुलुकले नयाँ शीतयुद्धतर्फ विश्वलाई धकेल्न खोजेकाले त्यसको अन्त्यका लागि चीनले जीएसआई अघि बढाएको सीले बताएका थिए। 

सो अवधारणाले विश्व सुरक्षाका लागि सबै देशबीचको सहकार्यमा जोड दिएको छ। तर अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञले यसलाई चीनकेन्द्रित विश्व सुरक्षा रणनीतिका रुपमा अथ्र्याएका छन्। सन् २०१३ यता बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत एसियालाई अफ्रिका र युरोपसँग स्थल, हवाई र जलमार्गमार्फत् प्रत्यक्षरुममा जोडेर क्षेत्रीय एकता, व्यापार विस्तार र आर्थिक वृद्धिको रणनीति लिएको चीनले जीएसआईमार्फत् सुरक्षाकेन्द्रित रणनीति ल्याएको बताइन्छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय