१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

नेकपा एसका नेता एमालेमा फर्किएपछि बबण्डर, एकै दिन ६५ जनाले त्यागे एमाले



काठमाडौं । नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला सचिवालय कमिटी सदस्य मनिला बिष्ट नेकपा एमालेमा प्रवेश गरेकी छन् । उनको पार्टी प्रवेशले मकवानपुर एमालेमा तनाव सिर्जना गराएको बताइन्छ ।

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ र सोअन्तर्गतको प्रदेश सभा ‘ख’ का एमालेजनले बिष्टको आगमनलाई रुचाएनन् । आज बिहान मनहरी गाउँपालिका ५ मा बिष्टलाई भित्र्याएकै कारण एमाले जिल्ला कमिटी सदस्य एवम् निवर्तमान ५ नम्बर वडाध्यक्ष शुभराज थिङ र गाउँ कमिटी उपाध्यक्ष मोहनलाल थिङलगायत ६५ जनाले एमाले छाडेका छन् ।

बिष्टको एमाले प्रवेशपछि सो पार्टीका गाउँ कमिटी सचिवालय सदस्य तथा निवर्तमान कार्यपालिका सदस्य पम्फा रोक्का,५ नम्बर वडा सहइञ्चार्ज बुध्दिराम मुक्तान, ५ नम्बर वडा कमिटी अध्यक्ष सोमनाथ रुम्बा,उपाध्यक्ष बलराम बस्नेतसहित ६५ जनाले एमाले परित्याग गरेको बताइन्छ । आफूहरुले एमाले परित्याग गर्नुको कारण माथिल्लो कमिटीले तल्लो कमिटीहरुसँग राय परामर्श नलिई ‘अराजक व्यक्ति’ हरुलाई भित्र्याएको उल्लेख गरिएको छ ।

वडाध्यक्ष रुम्बाले माथिल्लो कमिटीले तल्लो कमिटीसँग छलफल नगरी पार्टीमा अराजक व्यक्तिहरुलाई भित्र्याएकाले पार्टी छाडिएको घोषणा गरेका छन् । तीन दिनअघि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको विशेष पहलमा बिष्टसहित आठ जनाले समाजवादी पार्टी परित्याग गरेर एमाले प्रवेश गरेको फोटो सार्वजनिक गरेका थिए ।

सार्वजनिक भएको फोटोमा पौडेलसहित बागमती प्रदेश कमिटी सदस्य अनन्त पौडेल,जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ,उपसचिव नवनी सिग्देललगायत देखिन्थे । तत्कालीन नेकपा एमालेबाट २०७४ बैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा मनहरी गाउँपालिका अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्ष मनिला बिष्ट तथा अन्य ५ जना वडाध्यक्ष विजयी भएका थिए ।

विजयी अध्यक्ष उप्रेतीसङ्ग बढेको द्वन्द्वका कारण २०७७ मंसिर २७ गते बिष्टले उपाध्यक्षबाट राजीनामा दिइन् । उनको राजीनामा पुस १७ गते स्वीकृत भएको थियो । तर,पछि अदालतको परमादेशका कारण उपाध्यक्षको राजीनामा बदर भयो । त्यसबीच विकसित राजनीतिक घटनाक्रमसँगै बिष्ट नेकपा एकीकृत समाजवादी र उप्रेती नेकपा एमालेतिर लागेका थिए ।

पछिल्लो स्थानीय तह निर्वाचनमा समाजवादीबाट उपाध्यक्ष उम्मेदवार बनेकी बिष्टले २१ सय मत प्राप्त गरे पनि पराजित भइन् । उप्रेतीले पनि एमालेबाटै अध्यक्षका उम्मेदवार बनेर पाँच हजारभन्दा बढी मत ल्याए तर पराजित भए ।

आगामी मंसिर ४ गतेको निर्वाचनमा समाजवादीका नेता तथा पूर्वमन्त्री विरोध खतिवडासँग प्रतिस्पर्धा गर्न युवा नेता महेश बर्ताैलालाई अघि सारेको एमालेमा देखिएको पछिल्लो भाँडभैलोले मकवानपुरका एमालेजनमा चिन्ता थपिएको छ । प्रदेश निर्वाचन क्षेत्र ‘ख’ तर्फ पनि बलिया उम्मेदवार एवम् काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँसँग एमालेका जिल्ला उपाध्यक्ष लालबहादुर थापाले चुनाव लड्ने तयारी भइरहेको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय