१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

जथाभावी कर्मचारी भर्तीले राससमा तनाव, आन्दोलन चर्काउने तयारी



काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत स्थायी र अस्थायी कर्मचारीबीच चर्को अन्तरविरोध चलेको छ । जथाभावी कर्मचारी भर्ना गर्नाले राससमा द्वन्द्वको अवस्था सिर्जना भएको हो । स्थायी कर्मचारी नियुक्त लिएर आउने भएपछि आफूहरुलाई हटाइने डरले अस्थायी कर्मचारीहरु आक्रोशित देखिएका छन् ।

२०७७ माघमा लोक सेवा आयोगले राससका लागि कर्मचारीको विज्ञापन गरेको थियो । आन्तरिक, खुल्ला तथा समावेशी माध्यमबाट भर्ना गर्न आयोगले पत्रकार तथा प्रशासनतर्फका पदहरुमा कर्मचारी मागेको थियो । स्थायीतर्फ ११ पदका लागि १८ जना कर्मचारीको विज्ञापन गरियो । आयोगले अधिकृतस्तरको आठौं, सातौं, छैठौं र सहायकतर्फ पाँचौं र चौँथो तहका कर्मचारी मागेको हो ।

जसअन्तर्गत समाचारदाता–वरिष्ठ सम्पादक एक, सहसमाचारदाता–सहसम्पादक एक, उपसमाचारदाता–उपसम्पादक एक र अन्य पदका लागि कर्मचारी माग भएको हो । त्यस्तै, प्रशासन र प्राविधिकतर्फका केही कर्मचारीको निम्ति पनि विज्ञापन गरिएको थियो । आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि अधिकृतस्तर तह ६ मा कम्तीमा प्रविणता प्रमाणपत्र तह र अधिकृतस्तर सातौं र आठौं तहका लागि स्नातक उत्तीर्ण हुनुपर्ने योग्यता निर्धारण गरिएको थियो । छैठौं तहका लागि सम्बन्धित विषयमा स्नातक, पाँचौं तहको वरिष्ठ सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषय लिएर कक्षा ११ र १२ उतीर्ण भएको हुनुपर्ने प्रावधान थियो ।

सहायकस्तर चौथो तहको निम्ति एसएलसी वा एसईईमा न्यूनतम दुई जीपीए ल्याएको हुनुपर्ने बताइएको थियो । आयोगले गत साउन २५ गते लिखित परीक्षाको नतिजा सार्वजनिक गरिसकेको छ । १८ जनाको निम्ति ४४ जना छनोट भएका हुन् । तिनैको गत ४ गतेदेखि अन्तरवार्ता लिने काम भइरहेको छ ।

१० दिन अघिदेखि शुरु भएको अन्तरवार्ताको आज अन्तिम दिन भएको आयोगले जनाएको छ । आयोगले १८ जनाको अन्तरवार्ता लिन १० दिन लगाएपछि यतिखेर गम्भीर प्रश्न उठेको बताइन्छ । एकाध दिनमा सकाउनुपर्ने र सकिने अन्तरवार्ता हालसम्म पनि सञ्चालन गर्नु नै रहस्यमय भएको केही कर्मचारी बताउँछन् । यता, भोलिदेखि लोकसेवा पनि पनि बन्द हुँदैछ ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले दिनमा एउटा मात्र पदका लागि अन्तरवार्ता लिइएकाले ढिलाइ भएको बताए । समय मिलाउनुपर्ने र अन्य कार्यक्रमसमेत प्रभावित पार्न नमिल्ने भएकाले ढिलाइ भएको उनको भनाइ छ । आज अन्तरवार्ता सकाएर बेलुकी वा भोलि बिहानसम्म नतिजा प्रकाशन गर्ने तयारी गरिएको उनै सुवेदीले जानकारी दिए । उनी अन्तरवार्ताका लागि आयोगबाट राससमा खटाइएका प्रतिनिधिसमेत हुन् ।

यता, स्थायी कर्मचारी आउने बित्तिकै अस्थायी कर्मचारी हट्ने भएपछि अहिले राससमा द्वन्द्व चलेको छ । स्थायी र अस्थायी कर्मचारीबीचको मतभेद उत्कर्षमा पुगेको छ । ‘स्थायी कर्मचारी आएपछि अस्थायी स्वतः हटिहाल्छन्’, उनले भने, ‘फालिने हो कि भनेर अहिले आन्दोलन चर्काउनु वा दबाब दिनुको केही फाइदा छैन ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय