१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

ठेकेदारले दुई महत्वपूर्ण आयोजना अलपत्र पार्दा रोल्पामा वर्षमान पुनलाई हैरान



काठमाडौं । गृह जिल्लाका दुई वटा महत्वपूर्ण आयोजनाले माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ लाई हैरान बनाएको छ । कुनै समय माडी खोला अर्थात् घरछेउको पुल बेलैमा नबन्दा नेता पुनको टाउको दुखाइको विषय बन्यो ।

करिब एक दशकमा बनेको ’माडी खोलाको पुल निर्माण जति वर्ष अलपत्र भयो, त्यो वर्षमानकै कारण भएको हो’ भन्ने रोल्पालीको बुझाइ रह्यो । पुल त बन्यो तर नेता पुनको टाउको दुःखाउने आयोजना भने फेरि थपिँदै गए । ती हुन्, रोल्पा अस्पताल भवन र सिमलबाङ–दार्बाेट सडक । यी आयोजना पनि लामो समयदेखि अलपत्र अवस्थामा छन् । वर्षमान गृह जिल्ला पुगेको बखत जिल्लावासीको एउटै प्रश्न हुन्छ ‘अस्पताल भवन र सडक कहिले बन्छ ?’

स्थानीय तह निर्वाचनमा जिल्ला पुगेका पुनले गत असार मसान्तसम्म कुर्न आग्रह गरेको बताइन्छ । असारसम्मको म्याद सकिए पनि न अस्पताल भवन बन्यो न सिमलबाङ–दार्बाेट सडक नै । अब पुनः प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको चटारोमा सबै जना देखिन्छन् । त्यसबारेको नयाँ जवाफ दिन वर्षमानलाई धर्म संकट भएको माओवादीकै स्थानीय नेता तथा कार्यकर्ताले बताए । स्थानीय चुनावमा पार्टीका उम्मेदवारलाई जिताउने चुनौती उनलाई थियो । यसपटक आफैं उम्मेदवार बन्ने सम्भावना प्रवल छ।

माडी पुल निर्माणको जिम्मा पाएको ठेकेदारले काम अलपत्र पारेको विषयमा स्थानीयले उनै नेतासँग पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि स्थानीय हैरान भएका थिए । प्यूठानका ठेकेदार बसन्त डिसीले पनि वर्षमानसँग काठमाडौंमा आफ्नो उठबस हुने गरेको बताउँदै अरुलाई टारिदिएका थिए ।

त्यस्तै, अहिले अस्पताल भवन र सडक बनाउने जिम्मा रोल्पाकै ठेकेदार खगेन्द्र बुढाले पाएका छन्। उनले पनि माडी पुलकै ठेकेदारले झैं जिल्लाका नेता, कर्मचारी, प्रशासन र स्थानीयलाई कुनै टेरपुच्छर नलगाएको आरोप छ । मुख्य ठेकेदार बुढाले पेटी ठेकेदारको कारण देखाउँदै दुई वर्षअघि निर्माण हुनुपर्ने ती आयोजनाहरू हालसम्म पनि अलपत्र पारेको रोल्पालीको बुझाइ छ ।

जिल्लाका यी ठूला आयोजनाहरू वर्षाैंदेखि अलपत्र हुँदा पनि जिल्ला प्रशासन कार्यालय भने निरीह बनेको छ । जिल्लामा धेरै सिडिओ फेरिए तर यो विषयमा खरो रूपमा कुर्लेपनि उनीहरुले केही गर्न सकेनन् । जिल्लामा पुगेका सिडिओले शुरुका दिनमा केही चासो देखाए पनि पछि क्रमशः मौन बसेपछि विषय ओझेलमा परेको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय