११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

आज महानवमी, सिद्धिदात्रीको पूजा गरिँदै



काठमाडौ । बडादसैंअन्तर्गत आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व मनाइँदै छ। आजको दिनमा नवदुर्गामध्ये विशेष गरी सिद्धिदात्रीको आह्वान गरिन्छ।महानवमीमा गरिने दुर्गापूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ।

दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।

पशुबलि नदिनेले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ। कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ।

महानवमीका दिन कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निसानपूजा पनि गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निसाना पूजा र कोतपूजा गर्ने प्रचलन छ।


प्रतिक्रिया दिनुहोस !