८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

झरी परेको भन्दै निर्वाचन तालिका फेर्न दबाब



काठमाडौं । केही राजनीतिक दलले प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका फेरबदल गर्न निर्वाचन आयोगमा ‘दबाब’ दिन थालेका छन् ।

केही दिनदेखि परेको झरीका कारण कार्यक्षेत्रमा जान ढिलाई भएको भन्दै उनीहरुले कार्यतालिका परिमार्जन गर्न आग्रह गरेका हुन् ।निर्वाचन आयोगले प्रत्यक्षतर्फ मनोनयन दर्ताका लागि २३ असोज (आगामी आइतबार) का लागि मिति तोकेको छ । त्यो दिन कार्यालय समयमा इच्छुकहरुले मनोनयनपत्र दर्ता गर्न पाउँछन् ।

झरीले सडक अवरुद्ध भएको र खराब मौसमका कारण हवाई सेवा पजि प्रभावित भएर केही पहाडी तथा हिमाली जिल्लामा जान कठिनाई भएको उनीहरको तर्क छ । ‘उहाँहरुले राजनीतिक विषय उच्चारण गर्नुभएको छैन । पानी परिरहेको छ, बाटोमा समस्या छ । जान सकिँदैन कि भनेर केही दिन विचार गर्नुपर्‍यो भनेर कूटनीतिक भाषामा कार्यतालिका फेरबदल गर्न अनुरोध गर्नुभएको छ’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘काबूबाहिरको परिस्थितिमा बाहेक निर्वाचन कार्यतालिका फेरबदल हुने कुनै सम्भावना छैन, त्यही अनुसार तयारी गर्नुहोला भनेर सबैलाई मौखिक जवाफ दिने गरिएको छ ।’

एक निर्वाचन आयुक्तका अनुसार, अहिले देशव्यापी रुपमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने काम भइरहेको छ । घर पायक नपर्ने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु घरमा दशैं समेत नमानेर कार्यालय स्थापनामा जुटिसकेका छन् । दशैं विदामा बसेकाहरु समेत बिहीबार र शुक्रबारभरीमा कार्यक्षेत्र पुग्नेछन् । ‘निर्वाचन गराउने कर्मचारी कार्यस्थलमा पुग्ने, राजनीतिक दलका नेता कार्यकर्ताहरु पुग्न नसक्ने भन्ने हुन्छ र ?’ ती आयुक्तले भने, ‘कठिन परिस्थितिले मनोनयनका क्रममा आफू उपस्थित हुन नसके प्रतिनिधिमार्फत समेत मनोनयनपत्र दर्ता गर्न सकिन्छ ।’

आइतबार कार्यालय समयमा मनोनयन दर्ताको कार्यक्रम राखेको निर्वाचन आयोगले त्यही दिन बेलुकी प्रारम्भिक नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।


प्रतिक्रिया दिनुहोस !