१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

रुसी आक्रमणले युक्रेनमा पानी र विद्युतको आपूर्ति बन्द



किभ । रुसी फौजले पुनः युक्रेनका ऊर्जा निकायहरू लक्षित आक्रमण गरेपछि राजधानी किभका केही भागलगायत अन्य थुप्रै सहरमा पानी र विद्युत्को आपूर्ति रोकिएको छ । सरकारी सुत्रले रुसको पछिल्लो आक्रमणमा राजधानी किभमा दुईजना मानिसको ज्यान गएको जनाएको छ । 

निप्रो नदी नजिकको एउटा ऊर्जा केन्द्र वरपर धुवाँको मुस्लाे निस्किरहेको देखिन्छ । यहाँका दुईवटा ऊर्जा केन्द्र नराम्ररी क्षतिग्रस्त भएका छन् । किभको पश्चिममा पर्ने झितोमिर सहरमा पानी र विद्युत् आपुर्ति ठप्प भएको छ । किभमा इरानमा निर्मित ‘कामिकाजे’ ड्रोनहरूबाट आक्रमण भएको २४ घण्टापछि रुसी फौजबाट यस पछिल्लो हमला भएको हो । 

मानवरहित ती ड्रोन हमलाको कारण राजधानीमा कम्तीमा पाँचजना र उत्तरी सहर सुमीमा चारजना मानिसको ज्यान गएको थियो । साथै त्यसले सयौं सहर र गाउँका भौतिक पूर्वाधारहरूमा पनि गम्भीर क्षति पुर्‍याएको थियो । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विगत आठ दिनभित्र युक्रेनको ३० प्रतिशत ऊर्जा केन्द्र ध्वस्त पारिँदा मुलुकभरि नै ब्ल्याकआउट भएको मंगलबार ट्विटरमार्फत जानकारी गराएका छन् । सरकारी अधिकारीहरूले क्षतिग्रस्त पूर्वाधारको मर्मतका लागि दौडधुप गरिरहेका छन् ।  


प्रतिक्रिया दिनुहोस !