१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

अब एमालेले जनकपुर चुरोट कारखाना सञ्चालन गर्छ : रघुविर महासेठ



धनुषा । नेकपा एमालेका सचिव रघुविर महासेठले एमालेको सरकार बनेलगत्तै जनकपुर चुरोट कारखाना सञ्चालन हुने बताएका छन्। उनले एमालेको सरकारले जनकपुर चुरोट कारखाना सञ्चालन गर्ने जिकिर गरेका हुन्। धनुषाको बटेश्वरमा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सचिव महासेठले यसअघि एमाले नेतृत्वको सरकारले सञ्चालन गर्न चाहेपनि प्रदेश सरकारमा आवद्ध दलहरुका कारण काम गर्ने वातावरण नबनेको उल्लेख गरे। ‘एमालेले उद्योग सञ्चालन गर्न चाहेको थियो। प्रदेश सरकारमा आवद्ध कांग्रेस, लोसपालगायतका दलले उद्योगको भवन कब्जा गर्यो, क्वार्टरहरु बनाए। काम गर्ने वातावरण बनेन। हाम्रो सरकार पनि ढल्यो,’ उनले भने, ‘जसपा हाम्रो तालमेलमा आएको छ। अब हामी प्रदेशमा पनि सरकार बनाउँछौं। सबैभन्दा पहिला चुरोट कारखाना सञ्चालन गर्छौं।’

ओली नेतृत्वको सरकारले मधेसमा १३ सय किलोमिटर नयाँ राजमार्ग निर्माण कार्यको सुरुवात गरेको महासेठले दावी गरे। मधेस र देशको विकास एमाले बाहेक कुनै दलले गर्न नसक्ने भनेर सम्पूर्ण नेपाली जनताले बुझिसकेको उनको टिप्पणी थियो। धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका महासेठले नेकपा एमालेले आफ्नो बलमा आसन्न चुनावबाट बहुमतको सरकार निर्माण गर्ने ठोकुवा गरे। एमालेको कामबाट गठबन्धन सरकार डराईसकेको उनले औल्याए।

महासेठले केपी ओलीको सरकारले मधेसका लागि ल्याएको २ हजारभन्दा बढी योजना मध्ये १४ सय योजना गठबन्धन सरकारले रोकिदिएको आरोप लगाए। ‘त्यत्रो योजना लागू भएपछि मधेसमा एमाले बलियो हुन्छ भन्ने डरले योजनाबद्ध ढंगले योजनाहरु काटियो। त्यसमा कांग्रेसलाई मधेससँग लभ परेको भन्ने प्रचण्डजी र मधेसकै माधवजीले योजना रोक्न सहमति दिनुभयो,’ महासेठले भने। कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न विदेशी शक्तिको इशारामा प्रचण्डको नेतृत्वमा माधवजी देउवाको शरणमा पुगेका महासेठले टिप्पणी गरे। उनले वर्तमान अवस्थामा देशमा नेकपा एमालेको विकलप नरहेको जिकिर गरे।


प्रतिक्रिया दिनुहोस !