२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

इन्धन ट्यांकी बनाउने ८० करोडको ठेक्कामा मिलेमतो



काठमाडौं । नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा बनाउन लागेको एक करोड लिटर क्षमताको इन्धन भण्डारण ट्यांकी निर्माणको ठेक्कामा मिलेमतो भएको छ । भण्डारण ट्यांकी निर्माणमा प्रतिस्पर्धा नै खुम्च्याएर आयल निगमले ‘रेलिगेयर कन्स्ट्रक्सन प्रालि, कुपोण्डोल’लाई ट्यांक निर्माणको जिम्मा दिन लागेको छ ।

८० करोड रुपैयाँ लागत अनुमानको ५०–५० लाख लिटर क्षमताको भण्डारण ट्यांकी निर्माणका लागि निगमले ५ असोजमा बोलपत्र आह्वान गरेको थियो । तर, यो ठेक्कामा दुई नेपाली कम्पनीबाहेक अन्य सहभागी हुन नसक्ने गरी योग्यता मागिएको थियो ।

बोलपत्रले राखेका शर्त पुरा गर्न समानान्तर निर्माण सेवा र रेलिगेयर कन्स्ट्रक्सन मात्रै सक्षम थिए । त्यसैअनुसार ठेक्कामा तीनै दुई वटा मात्रै निर्माण कम्पनी सहभागी भएका थिए । उनीहरुबीच फर्जी प्रतिस्पर्धा गराएर निगमले ठेक्का लगाउने अन्तिम तयारी गरेको निगम स्रोत बताउँछ ।

मिलेमतोअनुसार नै लागत अनुमानभन्दा २ करोड रुपैयाँ कममै ठेक्का लगाउने तयारी भएको छ । अनुमानित लागतको करिब २.५ प्रतिशत मात्रै कम मूल्यमा यो ठेक्का केही दिनमा रेलिगेयर कन्स्ट्रक्सनले पाउँदैछ । ठेक्कामा सहभागी समानान्तर निर्माण सेवाले ८८ करोड रुपैयाँ बोलकबोल गरेपछि ७८ करोड कबोल गरेको रेलिगेयरले यो ठेक्का पाउन लागेको हो । भण्डारण डिपो आयोजना प्रमुख प्रदीपकुमार यादवले प्रतिस्पर्धीको तुलनामा १० करोड रुपैयाँ कममा बोलपत्र परेपछि रेलिगेयर निर्माण कम्पनी ठेक्काका लागि छनोट भएको दाबी गरे ।

यसअघि पनि मिलोमतो भएको भन्दै उत्पन्न विवादकै कारण दुई पटक आह्वान भएर ठेक्का स्थगित हुँदै आएको थियो । ५ असोजमा तेस्रो पटक निगमले ठेक्का आह्वान गरेको थियो ।

ठेक्का नेपाली कम्पनी मात्रै सहभागी हुन पाउने गरी गरियो । जबकी नेपालमा ठूला इन्धन भण्डारण निर्माणको अनुभव सीमित नेपाली कम्पनीसँग मात्रै छ ।

त्यसमाथि निगमले प्रतिस्पर्धा खुम्च्याउन राखेका शर्तहरुले अन्य कम्पनीको लागि बोलपत्र किन्ने ढोका नै बन्द गरेको थियो ।

निगमले नेपाली कम्पनीसँग पछिल्लो १० वर्षमा ३० करोड रुपैयाँ बराबरको इन्धन ट्यांकी बनाएको अनुभव मागेको थियो । २०६८ पछि २०७३ सालसम्म निगम लगातार घाटामा रहेकाले नयाँ ट्यांकी बनेका थिएनन् ।

आयल निगमका इन्जिनियरहरुका अनुसार नेपालमा बोलपत्रमा मागिएका अनुभव र योग्यता हासिल गरेका कम्पनी रेलिगेयर र समानान्तर मात्रै हुन् । उनीहरुले ४५–४५ लाख लिटर क्षमताको पोखराको भण्डारण डिपो भारतीय कम्पनी भारत ट्यांकसँग जेभी गरेर काम गरिरहेका छन् । जसको निर्माण लागत करिब ८७ करोड ८० लाख छ ।

निगम स्रोतका उनीहरुले पोखरामा ९० प्रतिशतभन्दा बढी काम गरिसकेकाले त्यहीँको अनुभवका आधारमा अमलेखगञ्जको भण्डारण ट्यांकको ठेक्कामा सेटिङ गराएका हुन् । पोखरामा ९० प्रतिशत भौतिक प्रगति भएपछि मात्रै दुवै कम्पनीहरुले योग्यताको प्रमाणपत्र पाउने अवस्था थियो । स्रोतका अनुसार समानान्तर र रेलिगेयरलाई योग्यताको प्रमाणपत्र दिएर त्यसकै आधारमा तुरुन्तै अमलेखगञ्जको ठेक्का दिने गरी नै योजना थियो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: