१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

नेपाल-चीनबीच १६ अर्ब रुपैयाँ बराबरको सहयोग सम्झौता



काठमाडौँ — नेपाल र चीन करिब १६ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग सम्झौता भएको छ । चीनले यसअघि नै घोषणा गरेको उक्त रकमलाई नेपालले पाउने गरी मंगलबार बेइजिङमा सम्झौता भएको हो ।

नेपालको तर्फबाट नेपाल सरकारको सहमतिअनुसार चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको तर्फबाट चाइना इन्टरनेसनल डेभलेपमेन्ट कोअपरेसन एजेन्सीका प्रमुख लुओ चाओहुईले हस्ताक्षर गरेका हुन् । उक्त हस्ताक्षरसँगै अब नेपालले विभिन्न परियोजनाका लागि चिनियाँ पक्षलाई प्रस्ताव पेस गरेर रकम लिन सक्छ ।

गत साउनको अन्तिम साता परराष्ट्र मन्त्री नारायण खड्काको चीन भ्रमणको दौरान चिनियाँ समकक्षी वाङले नेपाललाई आर्थिक सहयोगको प्रतिबद्धता गरेका थिए । उनीहरुबीचको भेटवार्तापछि बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै नेपालले चीनबाट ८०० मिलियन आरएमबी (करिब १५ अर्ब १३ करोड रुपैयाँ) सहयोग सन् २०२२ मा पाउने उल्लेख थियो । यस्तै, तीन मिलियन आरएमबी (करिब साढे ५ करोड रुपैंया) नेपालको विपद् व्यवस्थापनमा र दुई मिलियन आरएमबी (करिब ३ करोड ७८ लाख रुपैंया) मेडिकल सामग्रीका लागि नेपालले चीनले सहयोग गर्ने प्रतिबद्धता गरेको थियो ।

चीनका लागि नेपालका राजदूत श्रेष्ठले कान्तिपुरसँग कुरा गर्दै अब नेपालले उक्त रकम प्राप्त गर्ने र त्यसको लागि आयोजनाहरू चीनसामु पेस गर्नु पर्ने प्रस्ट पारे । ‘कुन–कुन कार्यक्रम र योजनालाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा दुई मुलुक बीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । साथै, सन् २०२२ को भनिएको आर्थिक अनुदान सहयोग अब २०२३ सम्मको लागि नेपालले उपयोग गर्न सक्ने सहमति भएको छ,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय