२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

उत्तर कोरियाले शक्तिशाली मिसाइल हानेर बिथोल्यो अमेरिकासहित २१ राष्ट्रको बैठक !



एजेन्सी । उत्तर कोरियाले एक महादेशबाट अर्कोमा मार हान्न सक्ने शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि एशिया प्यासिफिक आर्थिक साझेदारी (एपेक) शिखर सम्मेलन बिथोलिएको छ। उत्तर कोरियाले परीक्षण गरेको क्षेप्यास्त्र जापान नजिकै खसेसँगै त्यस सम्मेलन भर्त्सनामामै केन्द्रित रहेको रोयटर्सले जनाएको छ।

क्षेप्यास्त्र जापानको सीमा नजिकै खसेसँगै सम्मेलनमा सहभागी हुन बैंकक पुगेका नेताहरूको आकस्मिक बैठक बसेको थियो। त्यस बैठकमा अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, क्यानडा र न्युजिल्याण्डका प्रतिनिधिहरू सहभागी थिए।

त्यस बैठकमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले राष्ट्रसंघको सुरक्षा परिषद्को कतिपय संकल्पको उल्लंघन गरेको टिप्पणी गरेकी छन्।

‘उत्तर कोरियाको परीक्षण सुरक्षा परिषद्को कतिपय संकल्प विपरीत छ। उसले एशिया प्रशान्त क्षेत्रमा अनावश्यक द्वन्द्व निम्त्याएर शान्ति सुव्यवस्थामा खलल पुर्‍याउन खोजेको देखिन्छ,’ कमलाले भनेकी छन्। सम्मेलनमा सहभागी हुन पुगेका जापानी प्रधानमन्त्री फुमियो कुसिदाले उत्तर कोरियाले एशिया-प्यासिफिक क्षेत्रमा अप्रत्यासित तबरले द्वन्द्व निमत्याउन खोजेको बताएका छन्।

विश्वको कुल जनसंख्याको ३८ प्रतिशत र कुल ग्राहस्थ उत्पादनको ६८ प्रतिशत प्रतिनिधित्व गर्ने २१ मुलुक एपेकमा छन्। सदस्य राष्ट्रहरूबीच आर्थिक सहकार्यलाई बढावा दिँदै अर्थतन्त्र उकास्ने उद्देश्यले एपेकको निर्माण भएको हो।

एपेकबाट बढ्दो महँगी, खाद्य संकट, मानव अधिकारका विषयमा केही अर्थपूर्ण नीति तथा कार्यक्रम अघि सार्ने अपेक्षा गरिएको छ। यद्यपी,  बैठक भने  कोरियाली प्रायद्वीपमा बढ्दो तनाव र रूस युक्रेन द्वन्द्वको छलफलमै केन्द्रित रहेको रोयटर्सले उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: