१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

सिन्धुपाल्चोकमा कांग्रेसको ६४ वर्षपछि जीत



सिन्धुपाल्चोक । जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले लोकप्रिय मत ल्याएर विजयी भएका छन् । एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङलाई ११ हजार ८ सय ७४ को मतान्तरमा पराजित गरेका हुन् । 

२०१५ सालमा कांग्रेसका चन्द्रलाल श्रेष्ठले गोर्खा परिषद् पार्टीका उम्मेदवारलाई पराजित गरेका थिए । त्यसयता कांग्रेसका उम्मेदवारले यो क्षेत्र जित्न सकेका थिएनन् । २०७४ सालभन्दा पहिले सिन्धुपाल्चोकमा तीन निर्वाचन क्षेत्र थिए भने हाल दुई निर्वाचन क्षेत्र रहेका छन् ।

यो निर्वाचन क्षेत्रमा बस्नेतले ३९ हजार ३ सय ६७ मत प्राप्त गर्दा २०७४ को निर्वाचनमा जितेका तामाङले यो निर्वाचनमा भने २७ हजार ४ सय ९३ मतमात्रै ल्याउन सके । यो निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नरसिं श्रेष्ठले २ हजार ८ सय १९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरुङले २ हजार ५ सय ४३ ल्याइन् ।

यो निर्वाचन क्षेत्रमा २०१५ सालयता कांग्रेसले जित निकाल्न सकेको थिएन । कांग्रेसका केन्द्रीय सदस्य बस्नेत माओवादीसँग गठबन्धन बनेपछि विगतमा आफू उम्मेदवार बन्दै आएको क्षेत्र परिवर्तन गरेर चुनावमा लागेका थिए । यसअघिका निर्वाचनमा उनी सिन्धुपाल्चोक १ बाट चुनावी प्रतिस्पर्धामा हुने गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय