८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

गोकुल बाँस्कोटाले जितेपछि कांग्रेसभित्र भाँडभैलो



काभ्रे । काभ्रेपलाञ्चोक २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका शिव हुमागाईं पराजित भएपछि कांग्रेसभित्र भाँडभैलो भएको छ । काभ्रे– २ मा एमालेका गोकुल बास्कोटा निर्वाचित भएका थिए । शुक्रबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार बास्कोटासँग गुमागाई ५ हजार ८६३ मतान्तरले पराजित भएका छन् । बास्कोटाले ४५ हजार ३४५ मत पाएका छन् भने हुमागाईले ३९ हजार ४८२ मत पाएका छन् ।

हुमागाई पराजित भएसँगै उनीमाथि अन्तर्घात भएको भन्दै कांग्रेसका नेता कार्यकर्ताले आक्रोश पोखेका हुन् । केहीले राजीनामा समेत दिइसकेका छन् । वडा कार्यसमिति बैठक नै बसेर दोषीमाथि कारबाही नभएसम्म निष्क्रिय बस्ने लिखित निर्णय गरेका छन् । आफ्नै पार्टीभित्रको असहयोगले निर्वाचनमा पराजय भोग्नु परेको कांग्रेस नेता कार्यकर्ता बताउँछन् । हुमाईंले मतदातालाई धन्यवाद दिँदै आफ्नै पार्टीभित्र र बाहिरबाट चौतर्फी घेराबन्दीको सामना गर्नु परेको गुनासो गरेका छन् ।

अन्तिम मतपरिणाम सार्वजनिक भएपछि शुक्रबार धुलिखेलमा पत्रकार सम्मेलन गरेर हुमागाईंले आफूले निर्वाचन हार्नुमा मतदाताको कुनै दोष नभएको भन्दै मतदातालाई घरघरमा नै पुगेर धन्यवाद दिने बताए । उनले अस्वस्थ समीकरणका कारण मात्रै परिणाम निकाल्न नसकेको दाबी गरे । उनले भने, ‘उम्मेदवार हुँदा निर्वाचनको क्रममा आफ्नै पार्टी भित्र र बाहिरको चौतर्फी घेराबन्दी र चक्रव्यूहमा अन्तिमसम्म लड्दै गर्दा कति पनि विचलित नभई काभ्रेली जनताको स्वाभिमान कायम राख्नका खातिर आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण मतदाताहरुमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु ।’


प्रतिक्रिया दिनुहोस !