१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

सुदूरपश्चिममा गठबन्धनको बहुमत, भावी मुख्यमन्त्री खगराज भट्ट !



धनगढी: सुदूरपश्चिममा बाजुराबाहेक अन्य जिल्लामा प्रत्यक्षतर्फ मतगणना सम्पन्न भएको छ। प्रदेशका प्रत्यक्ष ३० स्थानको नतिजामा सत्तागठबन्धनले बढी स्थानमा जीत निकालेको छ। गठबन्धनले ३० मध्ये २१ स्थानमा जीत निकाल्दै प्रदेश सरकार बनाउन सुविधाजनक बहुमत प्राप्त गर्ने भएको छ। प्रत्यक्षतर्फ बाजुराका २ क्षेत्रको परिणाम आउन बाँकी छ ।

प्रत्यक्षतर्फ गठबन्धनको मुख्य दल नेपाली काँग्रेसबाट सबैभन्दा बढी ८ जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन्। नेपाली काँग्रेसका कैलालीबाट प्रकाशबहादुर देउवा, प्रकाशबहादुर बम र कमलबहादुर शाह निर्वाचित भएका हुन्। कञ्चनपुरबाट दिवानसिंह विष्ट, बहादुरसिंह थापा र बेलबहादुर राना मगरले चुनाव जितेका छन्। यस्तै, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट नेपाली काँग्रेसका शिवराज भट्ट, दार्चुलाका विक्रमसिंह धामी, अछामबाट मेघराज खड्का र मानबहादुर रावल निर्वाचित भएका छन्।

नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ ८ जना निर्वाचित भएका छन्। कैलालीबाट रमेश धामी, डडेल्धुराबाट खगराज भट्ट, अछामबाट अक्कलबहादुर रावल र झपटबहादुर साउँद प्रदेश सभा सदस्यमा चुनिएका छन्। यस्तै, कञ्चनपुरबाट ओमविक्रम भाट, दार्चुलाबाट मानबहादुर धामी र बझाङबाट भीमबहादुर भण्डारी र डोटीबाट शिवसिंह ओली पनि माओवादी केन्द्रबाट निर्वाचित भएका छन्। नेकपा एकिकृत समाजवादीबाट कैलालीबाट दीर्घबहादुर सोडारी र कञ्चनपुरबाट प्रकाश रावल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। सत्ता गठबन्धनले प्राप्त गर्ने प्रदेश सभा सदस्यको संख्या यकिन गरेर भन्न समानुपातिक मत गणनाको परिणाम आउनुपर्छ। गठबन्धन दलका शिर्ष नेतृत्व पूर्व सहमतिबाट पछि नहटे पाँच दलीय गठबन्धनको बहुमतको सरकार बन्ने र सरकारको नेतृत्व नेपाली काँग्रेस र माओवादी केन्द्रमध्ये एउटाले गर्नेछ। माओवादी केन्द्रका प्रभावशाली नेता खगराज भट्टलाई सुदूरपश्चिमको भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ । खगराज भट्टकै सहयोगमा प्रधानमन्त्री देउवा विजयी भएको राजनीतिक वृतामा चर्चा चलेको छ । देउवालाई उनकै सचिवालयमा लामो समय काम गरेका नेपाली काङ्ग्रेस वीपीका कर्ण मल्ल र स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले कडा चुनौती दिएको बेला सुदूरपश्चिमका अरु जिल्लाभन्दा सापेक्षित रुपमा बलियो संगठन रहेको माओवादीले डडेल्धुरामा खगराज भट्टकै विषेश बलमा देउवालाई जिताएकाले देउवा पनि भट्टप्रती साकारात्मक रहेको बताइन्छ । त्यस्तै सत्ता गठबन्धनले २१ स्थानमा जीत निकाल्दा नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्रका ९ जना प्रदेश सभा सदस्यले जीत निकालेका छन्।


प्रतिक्रिया दिनुहोस !