८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

ओलीलाई आफ्नो हारभन्दा माधव नेपालको जीतको बढी पिर



काठमाडौं । शनिबार साझ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीको समानुपातिक मतप्रति औपचारिक रुपमा आक्रोश पोखे । उनले समानुपातिक मतगणनाको पछिल्लो परिणामप्रति प्रश्न उठाउँदै घुमाउरो शब्दमा एउटा पार्टीले पाएको मत अर्कोलाई गणना गरिएको गम्भीर आरोप पनि लगाए ।

उनले नाम नलिइकन सत्ता गठबन्धनमा रहेका पार्टीहरुमध्ये ‘केही पार्टी’ को मतबृध्दिलाई ‘अस्वाभाविक’ भएको दाबी गरे । हिजो सामाजिक सञ्जालमा लेख्दै ओलीले समानुपातिक मत परिणामप्रति असन्तुष्टि राख्दै लेखे, शुरूदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मतबृध्दि अस्वाभाविक देखिन्छ । एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ ।’

ओलीले मतगणनास्थलमा रहेका कार्यकर्तालाई चनाखो हुन सुझाव दिए । उनले मत परिणामको मुचुल्काको प्रति आफ्नो फेसबुक बक्समा म्यासेज गर्नसमेत निर्देशन दिएका थिए ।

तर, ओलीले आफ्नो हारको समीक्षाभन्दा पनि अरुको जीतको चिन्ता गरेकोमा धेरैले आश्चर्य व्यक्त गरेका छन् । ‘यस्ता पनि के ठूला नेता ?,’ एक जना वामपन्थी विश्लेषकले भने, ‘नेताहरुले बढी मत ल्याए,आफ्नै पूर्वसहकर्मीहरुको चार सीट बढ्छ । आखिर त्यो सीट पनि कम्युनिस्टकै बढ्ने हैन र !’

यतिखेर निर्वाचन आयोगमा रहेका प्रमुख आयुक्तदेखि अन्य तीन जना आयुक्तले उनले नै नियुक्त गरेका छन् । ईश्वरी पौड्यालबाहेक अरु आफैंद्वारा नियुक्त आयुक्तमाथि यसरी उहाँले औंला ठड्याउनुभएको अर्थ लागेको छ । माधव नेपाल नेतृत्वको अस्वाभाविक मत बढ्यो भनेर आशंका कसलाई गरिएको होला ?


प्रतिक्रिया दिनुहोस !