८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

वाग्मतीमा सरकार बनाउन गठबन्धनलाई पर्याप्त मत



मकवानपुर । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा पुगेसँगै वाग्मती प्रदेशमा कांग्रेस पहिलो दल बन्ने भएको छ । दोलखाबाहेक १२ जिल्लामा मतगणना सम्पन्न हुँदा कांग्रेसले प्रत्यक्षतर्फ २४ सिट जितेको छ । माओवादी केन्द्रले १४, एमालेले १२, राप्रपाले ७, नेकपा (एकीकृत समाजवादी) ले ५, हाम्रो नेपाली पार्टीले १ र नेपाल मजदुर किसान पार्टीले १ स्थानमा विजय हासिल गरेका छन् ।

वाग्मती प्रदेशमा प्रत्यक्षतर्फ ६६ सिटका लागि निर्वाचन भएको हो । ४४ सामानुपतिकसहित प्रदेशसभामा १ सय १० जना सांसद रहनेछन् । गत निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको कांग्रेस अहिले पहिलो दल बनेको छ । यसअघि पहिलो स्थानमा रहेको एमाले भने तेस्रो स्थानमा पुगेको छ । माओवादी केन्द्र भने यसअघिकै स्थानमा कायम छ ।

समानुपातिकतर्फको पूरा मत गनिसकेपछि मात्रै सांसदको संख्या टुंगो लाग्ने र सदनको दोस्रो र तेस्रो ठूलो दल को बन्ने भन्ने निश्चित हुनेछ । हालसम्म समानुपातिकतर्फ पहिलो स्थानमा रहेका कारण एमाले दोस्रो दलको हैसियतमा प्रदेशसभामा रहने देखिन्छ । गत निर्वाचनमा २ सिटमा सीमित राप्रपाले यसपटक आकार बढाएको छ । यसअघिका २ सांसद पनि समानुपातिक मतबाट छनोट भएका थिए । अहिले राप्रपाका ५ जना उम्मेदवार प्रत्यक्षबाटै निर्वाचित भइसकेका छन् । यसबाहेक, हाम्रो नेपाली पार्टीले १ सिटमा विजयी हुँदै नयाँ दलका रूपमा सदनमा प्रवेश पाएको छ ।

हाल सत्तारूढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीले प्रत्यक्षतर्फ जितेको सांसदको हालसम्मको (दोलखाबाहेक) संख्या ४३ पुगेको छ । सरकार बनाउन ५६ सिट भए पुग्छ । समानुपातिकबाट १३ सिट सहजै पुग्ने भएकाले गठबन्धनकै सरकार निर्माण हुने निश्चित जस्तै छ ।


प्रतिक्रिया दिनुहोस !