७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

एमालेद्वारा चार जिल्लाका केही केन्द्रमा पुन: मतदान माग



काठमाडौँ । नेकपा एमालेले दोलखा, स्याङ्जा २, बाजुरा र उदयपुर १ मा पुन: मतदानको माग गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा पुन: निर्वाचन गर्न दिएको आदेशपछि एमालेले थप केन्द्रहरूमा समेत पुन: मतदान गर्न माग गरेको हो । 

एमाले महासचिव पोखरेलसँगै उपमहासचिव विष्णु रिमाल, निर्वाचन विभागका उपप्रमुख नीरज आचार्यसहितको टोली आयोग पुगेको थियो । ‘यस क्रममा आयोगले दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदानको आदेश भएको रहेछ । हाम्रो उम्मेदवारले माग गर्नुभएको अन्य कब्जा भएको स्थानहरू कालिन्चोक बेगुम्पा मतदान केन्द्र क र ख शैलुङ्ग गाउँपालिका वडा नं २ भूसाफेदा मतदान केन्द्रमा स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन नभएको हुँदा केन्द्रमा पुनः मतदानको आदेश गरिनुपर्छ,’ एमालेको माग छ ।

त्यसैगरी स्याङ्जाको चापाकोट नगरपालिका वडा ३ दिसिङकोट आधारभूत मावि कमेरे, वडा नं ४ को राम मन्दिर मावि दार्सिङ्ग नरसेवा र सोही स्थानको जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी र दिनदयालु आधारभूत विद्यालयका सबै मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै एमालेले ती स्थानमा पुन: मतदानको माग गरेको हो ।

यी स्थानमा मृत्यु भएका र विदेशमा रहेका मतदाताको नामबाट पनि मतदान गराइएको एमालेको आरोप छ । ती स्थानमा स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा मतदान सम्पन्न गराउन एमालेले माग गरेको हो ।

यस्तै, एमालेले बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ को त्रिभुवनेश्वरी मावि केन्द्र, सोही पालिकाको वडा नं ३ को मष्टेश्वरी आधारभूत विद्यालय, वडा नं ७ को नाटेश्वरी आधारभूत विद्यालय, वडा नं ८ को नवदुर्गा आधारभूत विद्यालय, खप्तडछेडा गाउँपालिका वडा २ को मालिका मावि मतदान केन्द्र, वडा नं ४ को फापरदेवस्थली मावि, बुढीगंगा नगरपालिका वडा ७ शारदा मावि मतदान केन्द्र, थमा मावि मतदान केन्द्र, वडा ८ को गिरिखेल्ने आधारभूत विद्यालय, बुढीनन्दा नगरपालिका वडा नं ५ को नन्देश्वरी मतदान केन्द्र, सोही वडाको घटाल आधारभूत विद्यालय, सोही पालिकाका वडा नं ९ को हिमाली आधारभूत विद्यालय, सोही पालिकाको वडा नं ५ को बागेश्वरी आधारभूत विद्यालय र सोही पालिकाको बढीमालिका मावि मतदान केन्द्रमा पुन: मतदानको माग गरिएको हो ।

‘बुथ कब्जा गरेको, एमालेका प्रतिनिधि हटाएको र विपक्षी उम्मेदवारका प्रतिनिधिले फर्जी मतदान गरेको सम्बन्धमा बाजुरा जिल्लाका उम्मेदवारले निर्वाचन अधिकृतसमक्ष तत्काल निवेदन गरेको र ती स्थानमा स्वतन्त्र, निष्पक्ष र भयरहित तबरले मतदान सम्पन्न हुन नसकेको हुँदा केन्द्रमा पुनः मतदानको आदेश हुनुपर्छ,’ एमालेले भनेको छ ।

यस्तै, एमालेले उदयपुर क्षेत्र नं. १ मा कतिपय मतदान केन्द्रमा अतिरिक्त मतपत्र गणनामा परेको र गणनाअघि भन्दा शंकास्पद अवस्थामा मतपेटिका फेला परेको भन्दै ती स्थानमा पनि पुनः मतदानको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

एमालेको आपत्तिपछि रोकिएको उदयपुरको गणना पुन: सुरु गर्न आयोगले निर्देशन दिएको छ । सो क्षेत्रमा एमाले उम्मेदवार मञ्जु चौधरी कांग्रेसका उम्मेदवार नारायण खड्काभन्दा पछि रहेकी छन् । एमालेले सुनसरी ४ को पनि मतगणना पुन: सुरु गर्ने माग गरेको छ ।

साथै थोरै मतले पराजित भएको प्रतिनिधिसभाको धनुषा क्षेत्र नं २ र वाग्मती प्रदेशसभाको काभ्रे १ (२) मा मतगणना गर्दा सदर हुनुपर्ने मत बदर गरिएको भन्दै एमालेले पुन: मतगणना गर्न माग गरेको छ । त्यसैगरी पाँचथरमा वसन्त नेम्वाङ विजयी भएको भन्दै उनलाई तुरुन्त प्रमाणपत्र दिनुपर्ने माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस !