१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

निहारिकाको मुद्दा अग्राधिकारमा राख्न आदेश, मंसिर २१ गतेलाई तोकियो पेसी



काठमाडौं । ‘कुमारी आमा’ भनेर चिनिएकी निहारिका राजपुतको मुद्दामा उच्च अदालत जनकपुरले मंसिर २१ गतेलाई पेसी तोकेको छ । बुधबार न्यायाधीश भोजराज अधिकारी र डालकुमार खड्काको संयुक्त इजलासले प्रतिवादी शिवराज श्रेष्ठको पक्षबाट बहस नसकिँदै मुद्दालाई अग्राधिकार राख्न आदेश दिएको हो । अदालतकी प्रवक्ता नुतन झाले मुद्दाको पेसी मंसिर २१ गतेका लागि तोकिएको जानकारी दिइन् । 

दुवै तर्फको बहस सकिए २१ गते नै इजलासबाट फैसला आउन सक्ने उनले बताइन् । उनका अनुसार समय अभावका कारण प्रतिवादी श्रेष्ठको तर्फबाट बहस हुन सकेन ।  निहारिकाको तर्फबाट भने सरकारी वकिल यदुनाथ शर्मा, वरिष्ठ अधिवक्ता मीरा ढुङ्गाना र अधिवक्ता रिंकु यादवले बहस गरे ।

कात्तिक १८ गते निहारिकाका छोरा र प्रतिवादी शिवराज श्रेष्ठको डीएनए ९९.९९९ प्रतिशत ‘म्याच’ भएको प्रतिवेदन अदालतले प्राप्त गरेको थियो । “डीएनए म्याच भएएपछि श्रेष्ठको जबरजस्ती करणीबाट नै राजपुत गर्भवती भई बच्चा जन्मिएको बहस गरेका छौँ,” निहारिकाकी कानुन व्यवसायी यादवले भनिन् ।

निहारिकाले आफूलाई पेय पदार्थ खुवाएर जबरजस्तीकरणी गरेको भन्दै श्रेष्ठविरुद्ध ०७६ माघ १९ मा जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालतले मेडिकल प्रतिवेदनमा निहारिकाले श्रेष्ठ र आफू श्रीमान–श्रीमती भएको बताएकाले जबरजस्तीकरणी पुष्टि नहुने फैसला गरेको थियो । । 

निहारिकाले भने श्रेष्ठले आफूलाई जबरजस्तीकरणी गरी गर्भ रहेकाले डीएनए जाँच गर्न माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेकी थिइन् । उनले आफूले अदालतबाट न्याय नपाएको भन्दै राष्ट्रपति भवन, शीतल निवास अगाडि आत्महत्याको प्रयसाले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !